निर्वाचनको सबै तयारी पूरा

फाल्गुन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनको सबै तयारी पूरा

काठमाडौं । बिहीबार हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । 

केन्द्रीय तहमा हुनुपर्ने सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरूले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारी गरिरहेका छन् । 

प्रतिनिधि सभा निर्वाचनका लागि मौन अवधि जारी रहेकाले दल र उम्मेदवारका गतिविधि बन्द भएका छन्। मौन अविधको पहिलो दिन देशभर छिटफुटबाहेकका घटना नभएको प्रहरीले जनाएको छ । आयोगले मतदान स्थलमा मतदानका लागि आवश्यक तयारीका काम जारी राखेको जानकारी दिएको छ ।

मतदानको समयमा जिल्ला तह, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनै पनि समस्या तत्काल सम्बोधन गर्न आवश्यक सहजीकरण गरिरहेको आयोगले जानकारी दिएको छ । मौन अविधमा आचारसंहिता विपरीतका घटना हुन सक्ने भन्दै सुरक्षा निकायले निगरानी बढाएको आयोगको दाबी छ । 

जसअनुसार एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना अनुसार चारैवटा सुरक्षा निकायले गस्ती र पेट्रोलिङलाई तीव्र बनाएका छन् । आयोगले मंगलबारदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको छ। 

निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक-फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । बिहीबार बिहान ७ बजेदेखि साँझ ५ सम्म मतदानको समय तोकिएको छ । 

प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकका १ सय १० गरी जम्मा २ सय ७५ सदस्यका लागि निर्वाचन हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.