
महोत्तरी । प्रतिनिधि सभा निर्वाचनलाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निश्चित अवधि तोकेर मदिरा बिक्री-वितरणमा राेक लगाएकाे छ ।
फागुन १० गते आइतबारका दिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जिल्लास्थित क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू र सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा सम्पन्न निर्वाचनलक्षित समन्वय बैठकबाट मतदान हुनु भन्दा सात दिनअगावै फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा सोमबार जारी गरिएको सूचनामा उल्लेख छ ।
महोत्तरी जिल्लाभरि सबै प्रकारका मदिराजन्य पदार्थहरूको बिक्री वितरण र सार्वजनिक स्थानमा सेवनलाई पूर्णरूपमा निषेध गरिएको र सूचनाको उल्लंघन गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाइएको छ ।
सुरक्षा निकायहरूबाट यसको कडाइका साथ अनुगमन गरिने समेत जनाइएको छ । निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राखका लागि चालिएको यस कदममा सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणवाट पूर्ण सहयोगको अपेक्षा समेत गरिएको सहायक प्रजिअ पोखरेलले बताउनु भएको छ ।
