
धनगढी । कैलालीको चुरे क्षेत्रमा व्यापकरूपमा वन फँडानी भएको छ।
सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा हरिया सालका रूख काटेर काठ तस्करी भइरहेको भेटिएको हो । कैलालीको चुरे गाउँपालिका-२ खैरालास्थित सामुदायिक वन क्षेत्रमा अवैध रुपमा काटिएका झन्डै २० वटा हरिया सालका रूख चिरान गरिएको अवस्थामा झन्डै ६ सय क्यूफिट काठ बरामद गरिएको छ।
डिभिजन वन कार्यालय धनगढीले विशेष सूचनाको आधारमा गरेको अनुगमनका क्रममा उक्त अवैध काठ फेला परेको हो। डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) रामविचारी ठाकुरको नेतृत्वमा खटिएको टोलीले त्रिवेणी सामुदायिक वन र झरना सामुदायिक वन भित्रै चिरान गरिएको सालको काठ बरामद गरेको हो। वन कार्यालयका अनुसार झरना सामुदायिक वनबाट करिब २०० वटा र त्रिवेणी सामुदायिक वनबाट ३१९ वटा कडी, फ्रेम र फन्टा बरामद गरिएको छ।
डिएफओ ठाकुरका अनुसार सामुदायिक वनका अध्यक्षसहित केही पदाधिकारीको प्रत्यक्ष संलग्नतामा सालका रूख काट्ने, काठ बिक्री गर्ने र वन क्षेत्र अतिक्रमण गर्ने ठूलो योजनाबद्ध तस्करी भइरहेको पाइएको छ। वन कार्यालयको टोली घटनास्थलमा पुगेपछि संलग्न सामुदायिक वनका पदाधिकारी फरार भएका छन् र उनीहरूको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो।
डिभिजनल वन अधिकृत ठाकुर मङ्सिर २६ गते मात्रै धनगढीस्थित कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएको हो। जिम्मेवारी सम्हालेपछि चुरे क्षेत्रमा वन फडानी र अतिक्रमण बढेको भन्ने सूचनाका आधारमा निरन्तर गस्ती र अनुगमन तीव्र पारिएको उहाँले बताउनुभयो।
वन कार्यालयले अन्य चुरे क्षेत्रहरूमा पनि गस्ती थप कडा बनाइएको जनाएको छ। यस घटनाले सामुदायिक वन संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ भने चुरे जस्तो संवेदनशील क्षेत्रको दीर्घकालीन संरक्षणमा चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन्।