नेकपाको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना, ३१ जना घाइते

पाँच जनाको अवस्था गम्भीर
फाल्गुन १६, २०८२ |मीनराज रोका
नेकपाको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना, ३१ जना घाइते

रोल्पा । नेपाली कम्युनिष्ट पार्टीको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। शनिबार लिवाङमा आयोजित नेकपाको चुनावी सभामा सहभागी भई फर्कने क्रममा सुनिलस्मृति गाउँपालिका-३ मिझिङ उपल्लो गाउँमा ना ५ ख १२३१ नम्बरको बस दुर्घटनामा परेको हो।

क्षमताभन्दा बढी कार्यकर्ता सवार बस ओरालोमा ब्रेक फेल भई अनियन्त्रित हुँदा भित्तामा ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ। गम्भीर घाइते पाँच जनालाई प्राथमिक उपचारपछि बुटवल सिटी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभयो। 

बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।