राष्ट्रिय लिग फुटबलमा एपीएफकाे अपराजित यात्रा कायमै

फाल्गुन १६, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग फुटबलमा एपीएफकाे अपराजित यात्रा कायमै

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल एपीएफ क्लबले अपराजित यात्रा कायम राखेको छ । 

आफ्नो आठौँ खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्ध २-२ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशामा सुरुआती समयबाटै खेलमा दबाब बनाएको एपीएफले १०औँ मिनेटमा सफलता हात पार्‍यो । 

काउन्टर अट्याकमा प्रदीप लामाले उत्कृष्ट गोल गर्दै एपीएफलाई अग्रता दिलाए । १५औँ मिनेटमा पुलिसका निरज खड्काको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । २७औँ मिनेटमा भने कप्तान रामचन्द्र वजीको क्रसमा शिशिर चौधरीले हेडर प्रहार गर्दै पुलिसलाई खेलमा फर्काए । 

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएकामा दोस्रो हाफको ६१औँ मिनेटमा पुलिसका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै प्रदीपले एपीएफको अग्रता बनाए । ६५औँ मिनेटमा युवराज खड्का विपक्षी गोलरक्षक अमित टमाटाविरुद्ध चुक्न पुग्दा एपीएफले अग्रता फराकिलो बनाउने मौका गुमायो । 

८८औँ मिनेटमा ओसेन्द्र कटुवालले गोल गर्दै पुलिसको एक अकं सुनिश्चित गरे । लिगमा पुलिस र एपीएफ दुवै टोलीको यो दोस्रो बराबरी हो । एपीएफले ८ खेलमा २० अंक जोड्दै शीर्षस्थान कायम राखेको छ भने समान खेलमा पुलिसको ८ अंक छ ।

त्यस्तै, शनिबार नै भएको दिनको पहिलो खेलमा श्री भगवती क्लबले काक्रेबिहार क्लबविरुद्ध ६-० को शानदार जित हात पारेको छ । यससँगै श्री भगवतीले लिगमा दोस्रो जित हात पारेको हो । काक्रेबिहार भने आठौँ खेलसम्म पनि जितविहीन छ ।