मोरङ- ५ मा २१ उम्मेदवारबीच प्रतिस्पर्धा : कडा भिडन्तको सम्भावना

फाल्गुन १६, २०८२ |सुशीला पाठक|महाप्रसाद खतिवडा
मोरङ- ५ मा २१ उम्मेदवारबीच प्रतिस्पर्धा : कडा भिडन्तको सम्भावना

मोरङ । मोरङको क्षेत्र नम्बर पाँच अहिले चर्चामा छ । 

गत निर्वाचनमा स्वतन्त्र रुपमा चुनाव जितेका योगेन्द्र मण्डलले आफ्नै नेतृत्वमा पार्टी खोलेर निर्वाचनमा होमिएका छन् । त्यसबेला लोकप्रिय मत नेपाली कांग्रेसले ल्याएको यो निर्वाचन क्षेत्रमा नयाँ पुराना दलका ६ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

गत आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचन जितेका योगेन्द्र मण्डलले आफ्नै नेतृत्वमा दल खोलेर निर्वाचनमा होमिएपछिं मोरङ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक बनेको छ । सो आम निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन तथा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको गठबन्धनकाबीच मण्डलले २१ हजार आठ सय २० मत ल्याएर जित निकाल्नु भएको थियो । 

कांग्रेस नेतृत्वको गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार चार सय ८६ मत ल्याउँदा अर्को गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार तीन सय ९० मत ल्याउनु भएको थियो । 

दुई गठबन्धनलाई पराजित गरेका उनै मण्डलले आफ्नै नेतृत्वमा राष्ट्रिय उर्जाशील पार्टी खोलेका छन् । सोही पार्टीबाट उम्मेदवारी दिएका मण्डल आफ्नो विजयीयात्रालाई निरन्तरता दिन चाहनु हुन्छ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट २०७० तथा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट २०७४ सालमा विजयी शिवकुमार मण्डल यो निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट उठ्नु भएको छ । उहाँ आफ्नो गुमेको विरासत फर्किनेमा ढुक्क हुनुहुन्छ ।

२०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरमले जितेयता २०७४ सालको प्रदेश सभाको एउटा सिट जितेबाहेक जित निकाल्न नसकेको जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादव यो निर्वाचन आफ्नो पक्षमा हुने दाबी गर्नु हुन्छ । 

पहिले निर्वाचित हुनेले विकास निर्माण तथा जनताको पक्षमा केही गर्न नसकेको र आफू पटकपटक पराजित भएर पनि मतदाताको सुख, दुःखमा साथै रहेका कारण मतदाताको सहानुभूति भएकोले जित निश्चित भएको यादवको भनाइ छ । आगामी आम निर्वाचनमा यीनै तीन दलबीच मुख्य प्रतिस्पर्धा हुने मतदाताको बुझाई छ । 

यसका अतिरिक्त दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले पनि जित आफ्नो पक्षमा हुने दाबी गरेका छन् । धनपाल थान गाउँ पालिका, जहदा गाउँ पालिका, रंगेली नगरपालिकाको वडा नम्बर चार, पाँच, ६ र सात, विराटनगर महानगरपालिकाको १३, १४, १५, १६, १७ र १८ नम्बर वडा समेटिएको मोरङ ५ मा एक लाख १० हजार एक सय ७७ मतदाता छन् । 

 विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका १४ जना र स्वतन्त्र सात जना गरी मोरङ क्षेत्र नम्बर ५ मा २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।

Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।