
धनुषा । उम्मेदवारहरू चुनावी प्रचारप्रसारको दौडादौडमा छन् ।
दल र उम्मेदवारहरू मतदाता रिझाउन गाउँ-गाउँमा प्रचारप्रसारमा जुटेका छन् । सहरी चोक तथा गाउँका मुख्य स्थानमा उम्मेदवारका नाम र दलका बारेमा धेरै चर्चा रहे पनि धनुषाको इट्टा भट्टामा काम गर्ने कैलालीका थारूहरूलाई न चुनावको रौनक छ, न त निर्वाचनबारे कुनै आधिकारिक जानकारी नै ।
उनीहरूलाई भोटभन्दा पनि बढी पेटकै चिन्ता छ । उहाँ हुनुहुन्छ कैलाली जिल्लाको हसुलिया गाउँपालिका-१ हसुलियाकी लक्ष्मी चौधरी । ३१ वर्षीया चौधरी पति र दुई छोरासहित मंसिरदेखि जनकपुरधाम उपमहानगरपालिका लोहनामा इट्टा भट्टामा बस्दै आउनु भएको छ।
आफ्नै ठाउँमा रोजगारी नपाएकै कारण घरपरिवारका अन्य सदस्यलाई छाडेर इट्टा बनाउन बाध्य भएको उहाँको गुनासो छ । बालबच्चालाई आमाबाबुको भरमा गाउँ मै छाडी सोही इट्टा भट्टामै बस्दै आउनु भएका कैलाली गाउँपालिका-१ दक्षिण मंजराका ३१ वर्षीय जनजीरु चौधरीको दिनचर्या पनि लक्ष्मी चौधरीको जस्तै छ ।
परिवार पाल्नकै लागि केही रकम पाउने आशामा बिहानैदेखि अबेर रातिसम्म जनजीरू चौधरी दम्पतीलाई पनि इट्टा बनाउने,सुकाउने र थन्क्याउने चटारो छ। स्थानीय, प्रदेश र प्रतिनिधि सभालगायत विगतमा भएका विभिन्न चुनावमा उम्मेदवारहरूले आधारभूत आवश्यकता पूरा गर्ने, गाउँको मुहार फेर्ने, विकासको ढोका खोल्ने र स्थानीय स्तरमै रोजगारीका अवसरहरु सिर्जना गर्ने वाचा त गरे, तर व्यवहारमा केही नबदलएिको उनीहरुको गुनासो छ।
असल र राम्रो जनप्रतिनिधि छान्न मन हुँदाहुँदै पनि निर्वाचनमा सहभागी हुन नसक्ने उहाँको बाध्यता छ । वगतमा पटक पटक भएको आन्दोलनपछि बनेका सरकारले परिवर्तनका कुरा गरे पनि यहाँका गाउँमा रोजगारी अभाव मात्र नभइ विद्यालय र स्वास्थ्य उपचारको पनर राम्रो सुविधा छैन।