
जनकपुर । मैथिली र थारू समुदायको बसोबास रहेका तराईका जिल्लामा दाजुभाइको दीर्घायुको कामना गर्दै १० दिन सम्म मनाइने सामा चकेवा पर्वको रौनक यति बेला छाएको छ ।
सामा, चकेवा, बृन्दावन, सतभइया, चुगलालगायतको माटोको कलात्मक मूर्ती बनाइ कात्तिक ९ गते देखि १९ गते सम्म मनाइने यो पर्वमा दाजुभाइ र दिदीबहिनीको मायाको प्रतीकको रूपमा सामा चकेवा खेल्ने प्रचलन छ । घरको काम काज सकेर सााझको भोजनपछि किशोरी र महिलाहरूले दाजुभाइको दीर्घायुको कामना गर्दै चुगल खोरी गर्ने, चुगलाको दाह्री र जुँगामा आगो लगाई गीत गाइ रहेको दृश्य अहिले मिथिला क्षेत्रमा जताततै देख्न सकिन्छ ।
समुहगत रूपमा गाइने सामा चकेवाको गीत गाउँघरमा मात्र नभई सहरमा पनि गुञ्जिरहेको छ । घर-घरबाट डालामा दियो बालेर निस्केको समूहले माटोको कलात्मक मूर्ति सहित सामा चकेवा खेल्दाको उल्लास बेग्लै देखिन्छ । दाजुभाई आयु बढाउनको लागी दिदिबहिनीले सामाचकेवा पर्व मनाउने गर्छन र जसरी माइतबाट दिदिबहिनीको बिदाइ गरिन्छ त्यसरी नै पूर्णिमाको दिन सामाको पनि बिदाइ गरिन्छ ।
पद्मपुराणमा भगवान् श्रीकृष्णकी छोरी सामाको प्रेम बृन्दावनका कुमार चक्रवातसँग बसेको र राज्यका महासामन्त चुडक अर्थात् चुगलाले पनि सामालाई मन पराएको प्रसंग छ । चुडकले सामा र चक्रवात अर्थात् चकेवाको प्रेम सहन नसकेर चुगली लगाइ दिएको प्रशंग छ । श्रीकृष्णका छोराले बैनी सामालाई बुबाको चरी बन्ने श्रापबाट मुक्त गरेको, सामाले दुःख पाएको भनी मथुराका सबैले चुडकलाई समातेर मुख र जुँगामा आगो लगाइ दिएको किम्वदन्ती छ ।
चुगलखोरी गरेपछि चुगलालाई गाली गर्ने र दाजुभाइलाई आशिर्वाद दिने गरिन्छ । भाइले सामालाई उद्धार गरे जस्तै जुन दिदीबहिनीले माटोको सामा-चकेवा बनाएर यो पर्व निष्ठापुर्वक मनाउँछन । कार्तिक शुक्लपञ्चमीदेखि पूर्णिमासम्म मिथिलाका सबै जातजातिले चौवाटो र सार्वजनिक स्थलहरूमा भेला भई समान रूपमा सामा चकेवा पर्व मनाउँछन् ।
माटो, जुट, करजन्नी लगायतका स्थानीय उत्पादनबाट बनाएका प्रतिमालाई पूणिर्माको राति दाजुभाइले घुँडामा राखी फुटाएपछि खेतमा सेलाइन्छ । दाजुभाइ-दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरिने यस पर्वलाई मिथिलाका दाजुभाइ दिदीबहिनीले भ्रातृत्व सम्बन्ध प्रगाढ बनाउने चाँडका रूपमा लिने गरेका छन् ।
यसको मौलिक पहिचान, प्रचार प्रसार र संरक्षण सम्वर्द्धनका लागी केहि वर्ष यता सामाचकेवाको कलात्मक मूर्ती बनाउने प्रतियोगिता, सामा चकेवा महोत्सव, सामुहिक रूपमा सामा चकेवा विसर्जन लगायतका कार्यक्रमहरू आयोजन हुन थालेको छ ।