
काठमाडौं । मशेध प्रदेशले प्रधानमन्त्री कपमा सान्त्वना जित हात पारेको छ।
पछिल्लो खेलमा एपीएफसँग पराजित भएर फाइनल दौडबाट बाहिरिएको मधेशले बुधबार वीरगञ्जमा नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको हो। टस जितेर मधेशले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पुलिस ४० ओभर तीन बलमा एक सय ३० रन बनाएर अलआउट भएको थियो।
ओपनर दिनेश खरेलले १५ तथा कुशल भुर्तेलले ३९ रन जोडे। शंकर रानाले पनि २७ रनको योगदान गर्न सके। तीन विकेट गुमाउँदा पुलिसले ७७ रन जोडेको थियो। त्यसपछि भने विकेट पतनको सिलसिला रोकिएन। थप ७३ रन जोड्दा पुलिसले सात विकेट गुमाएको थियो।
मधेशका पवन सर्राफ, रञ्जित कुमार र अशिक बैथाले समान तीन तीन विकेट लिएर पुलिसका खेलाडीलाई साझेदारी गर्न दिएनन्। जवाफमा मधेशले २४ ओभर एक बलमा ६ विकेट क्षतिमा एक सय ३१ रनको लक्ष्य पुरा गरेको थियो। हिमांशु दत्तले १८ रन बनाए।
सुरुआत राम्रो नभए पनि अरनिको योदवले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेर मधेशलाई जितसम्म पुर्याएका हुन्। यादवले ४४ बलमा तीन चौका र ६ छक्का प्रहार गरेका थिए। उनले अन्तिममा रुपेश सिंहसँग ५४ रनको साझेदारी गरेका थिए।
रुपेशले पनि २७ रनको योगदान गरे। पुलिसका गुल्सन झाले तीन र सागर ढकालले २ विकेट लिए पनि आफ्नो टिमको हार जोगाउन सकेनन्। आजको जितसँगै मधेशर चौथो स्थान र पुलिस पाँचौ स्थानमा रहेर जय ट्रफीमा पुगेका छन्।