
धादिङ । धादिङ प्रहरीले आइतबार बिहान ठूलो मात्रामा लागूपदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान प्रहरीले पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा बा ५ ख ७५३७ नम्बरको आइसर गाडीबाट २ सय ६८ किलो ४ सय ग्राम गाँजा र २ सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले राजमार्ग क्षेत्रमा लागूऔषध गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा आइसरको पछाडि ढालामा कालो त्रिपालले छोपेको अवस्थामा बोराभित्र रहेकाे गाँजा र अफिम फेला पारेकाे हाे ।
प्रहरीले सेतो रंगको बोराभित्र लुकाइ छिपाइ ल्याएको लागूऔषधसहित दुई जनाबाट चार थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा आइसर गाडी चालक धादिङ जिलला नीलकण्ठ नगरपािलका वडा नंवर ८ बस्ने वर्ष २२ का अमर बिक र धादिङ जिल्ला सिद्धलेक गाउँपालिका ५ का होम बहादुर विक छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुरमा मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनु भयो । धादिङ प्रहरीले चैत महिनामा मात्र ३४७ किलो ९९६ ग्राम २५० मिलिग्राम गाँजा, ११ ग्राम ५२० मिलिग्राम चरेश, २०० ग्राम अफिम ४ ट्याप्लेट ट्रमाडोलसहित २२ जनालाई पक्राउ गरेको छ ।