
काठमाडौं । सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।
पहिलो चरणको खेल सकिएसँगै शीर्ष ८ मा रहेर भुवन नगरकोटीसँगै, निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंकबहादुर कार्की क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्। भुवन यो प्रतियोगितामा लगातार तीन पटकका विजेतासमेत हुन्।
रोयल नेपाल गल्फ क्लबमा बुधबार दोस्रो सिडेड भुवनले सबैभन्दा सहज जित निकाले। उनले १५औं सिडेड कृष्णमान राजबाहकलाई ७-६ ले हराए। १२औं होलमा जित हात पारेका भुवनले क्वार्टरफाइनलमा कार्कीलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । दशौं सिडेड कार्कीले सातौं सिडेड धनलाई २-०ले हराए ।
यी दुईबीच कडा प्रतिस्पर्धा चल्दा कार्कीले १८औं होलमा जित निकाले । नेपाल नम्बर एक गल्फर निरजले सोह्रौं सिडेड सूर्यप्रसाद शर्मालाई ३-२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे । १६औं होलमा जित निकालेका निरजले क्वार्टर फाइनलमा भेट्रान गल्फर रामे मगरसँग खेल्नेछन् ।
नवौं सिडेड रामेले आठौं सिडेड भुवनकुमार रोक्कालाई १-० ले हराए । तेस्रो सिडेड दिनेश प्रजापतीले चौधौं सिडेड बलभद्र राईलाई सहजै ६-४ ले मात दिए। दिनेशले क्वार्टर फाइनलमा रवि खड्कासँग खेल्नेछन्। छैटौं सिडेड रविले ११औं सिडेड दीपक मगरलाई ४-२ ले हराए ।
चौथो सिडेड सञ्जयले तेर्हौ वरियताका रमेश अधिकारीलाई ३-२ ले पराजित गरे। सञ्जयले बिहीबार सेमिफाइनल प्रवेशका लागि जयराम श्रेष्ठसँग खेल्नेछन्। जयराम वाक ओभर पाएर अन्तिम आठमा पुगे। बाह्रौं वरीयताका प्रदीप लामा अनुपस्थित भएपछि जयरामले वाई पाएका हुन् ।