धनकुटा । धनकुटाका किसान सिंचाइ सुविधा नभएको पाखो, सुक्खा र भिरालो जमिनमा समेत उत्पादन गर्न सकिने धान खेतितर्फ आकर्षित भएका छन् ।
सिंचाइको पानी नलाग्ने र धान खेती असम्भव ठानिएका स्थानमा समेत राम्रो उत्पादन हुन थालेपछि यसतर्फ किसानको चासो बढ्दो छ । धनकुटाको छथरजोरपाटी गाउँपालिका-४ तेलियाका रुद्रप्रसाद ओझाले चार रोपनी बारीमा रोपेको धान काट्ने बेला भएको छ ।
कुलोको पानी नलाग्ने पाखो बारीमा झरिला धानका बाला पहेालपुर देखिएपछि ओझाको परिवार दंग छ । तेलियाकै कर्णबहादुर लिम्बुले बारीमा रोपेको धान पनि थन्क्याउाने बेला भएको छ । धनकुटाको तेलिया र बेलहराका किसानले सुक्खा सहने यो धान भिरालो र पाखो बारीमा लगाएका छन् ।
जेठ महिनामा रोपेको धान असोज भित्रै बाली लिन सकिन्छ । किसानले परम्परागत घैयाँ र त्यसका उन्नत जातका धान रोपेका छन् । परीक्षणको रुपमा बारीमा लगाइएको धान उत्पादन धनकुटामा सन्तोषजनक रहेको किसानको भनाइ छ । नियमित सिंचाइको आवश्यकता नपर्ने यो धान सुक्खाग्रस्त क्षेत्रका लागि विकल्प हुन सक्ने कृषिका अधिकारीको भनाइ छ ।
पाखो बारीमा समेत उत्पादन लिन सकिने यो धानबालीमा किसानको रुची देखिए पनि सरकारले प्रवर्द्धनका कार्यक्रम नल्याउँदा व्यवसायिक रुप दिन भने कठिनाइ भएको छ ।