धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार अस्थायी र करार सेवाका सबै नियुक्ति र सम्झौता खारेज गरिएको छथरजोरपाटी गाउँपालिकाका प्रमुक प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेले बताउनु भयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ८ मा “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” निर्देशन जारी गरेको थियो। उक्त निर्देशनअनुसार गाउँपालिकाले हालसम्म दरबन्दीबाहिर अस्थायी रूपमा नियुक्त भएका र करार सेवामा कार्यरत सबै कर्मचारीको सम्झौता मंगलबारबाट लागू हुनेगरी खारेज गरिएको घिमिरेको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले छथरजोरपाटी गाउँपालिकामा अस्थायी र करार सेवामा कति कर्मचारी छन भन्ने खुलाउनु भएन । उहाँले भन्नुभयो, 'सूचनामा भनिएझैं स्वीकृत दरबन्दीबाहेकका अस्थायी र करार कर्मचारी कटौती गरिएको हो, हाम्रोमा धेरै छैनन होला, २ र ४ जना बढी होलान् । गाउँपालिका अध्यक्षले दशैं अघिनै मलाइ यो निर्देशन दिनुभएको थियो, चाडबाडको मुखमा नगरौं भनेर अहिले गरिएको हो ।'