जेन-जी आन्दोलनको मौका छोपेर भागेका साढे ७ हजारभन्दा धेरै कैदीबन्दी अझै फरार

आश्विन ७, २०८२ |किरण पौडेल
जेन-जी आन्दोलनको मौका छोपेर भागेका साढे ७ हजारभन्दा धेरै कैदीबन्दी अझै फरार

काठमाडौं । जेन-जी आन्दोलन चर्किएको मौका छोपेर भागेका साढे ७ हजारभन्दा धेरै कैदीबन्दी अझै फरार छन् । 

भदौ २४ गते देशभरका २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट फरार भएकामध्ये हालसम्म ६ हजार ९ सय ८४ जना मात्र फिर्ता आएका छन् । बाँकी ७ हजार ५ सय ७१ जना कैदीबन्दी नफर्कँदा र पक्राउ गर्न नसक्दा समाजमा त्रास उत्पन्न भएको छ । फरार कैदीबन्दी निर्वाध समाजमा बसिरहँदा अपराधको जोखिमसमेत बढेको छ ।

जेन-जी आन्दोलन चर्किएको मौका छोपेर गत भदौ २४ गते देशभरका २८ कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५ सय ५६ कैदीबन्दी फरार भए । कारागारमा ३० हजार ६ सय ३९ कैदीबन्दी रहेकोमा झन्डै आधा भागेका थिए । 

जेलबाट भाग्ने क्रममा १० कैदीबन्दीको मृत्यु भयो भने केही घाइते भए । भागेकामध्ये हालसम्म ६ हजार ९ सय ८४ जना फेरि कारागार फर्किएका छन् । यीमध्ये कति आफैं फर्किए भने कतिपयलाई प्रहरीले पक्राउ गरेर बुझाएको हो । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई फर्कन आह्वान गरे पनि अझै ७ हजार ५ सय ७१ जना सम्पर्कमा आएका छैनन् ।

कारागार व्यवस्थापन ऐन बमोजिम कारागारबाट भागेका वा भाग्ने उद्योग गरेका कैदीबन्दीलाई ५ वर्षसम्म कैद हुनसक्ने प्रावधान छ । झन्डै ७ हजार कैदीबन्दी फर्किए पनि अझै त्यो भन्दा धेरै फर्किन बाँकी छ । फरार कैदीबन्दीका कारण अपराधका बढ्ने जोखिम समाजमा कायमै छ ।

फरार कैदीबन्दी निर्वाध रुपमा समाजमा बसेर आपराधिक कार्यमा संलग्न हुन थालिसकेका छन् । ‍जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका काभ्रेपलाञ्चोकको पनौतीका सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेर फरार भएका छन् । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नै फरार कैदीबन्दीले नै आफूविरुद्ध मुद्दा चलेका अदालतमा आगजनी र तोडफोडमा संलग्न देखिएको बताइसक्नुभएको छ । केही दिनअघि सर्वोच्च अदालतकी बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले पनि फरार कैदीबन्दीबाटै न्यायाधीशहरुलाई धम्की आइरहेको बताउनुभएको थियो ।

यसरी फरार कैदीबन्दीबाट न्यायाधीशहरु मात्र होइन, समाज नै त्रसित बन्ने अवस्था देखिएको छ । गृह प्रशासनले छुट्टै रणनीति बनाएर फरार कैदीबन्दीलाई तत्काल नियन्त्रणमा नलिने हो भने समाजमा ठूलो दुर्घटना निम्त्याउन सक्छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।