३९ घण्टादेखि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

तुइन खोला नजिकै खसेको पहिरो पन्छाउन अझै समय लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह
आश्विन ९, २०८२ |राजु चौधरी
३९ घण्टादेखि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु भएको छ । ठूलो पानी परेका कारण हिजो साँझ ६ बजेपछि पहिरो पन्छाउने काम रोकिएको थियो ।

मंगलबार दिउँसो तुइन खोला पुल नजिकै खसेको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ । पहिरो पन्छाउन कति समय लाग्छ भन्ने यकिन नभएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ । साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । 

त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ। मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे ४० किमि, डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ । गत शुक्रबार साँझ पहिरो खस्दा करिब ४६ घण्टा यो सडक बन्द भएको थियो । त्यसयता पनि स–साना पहिरो खस्न रोकिएको थिएन । सडक बन्द हुँदा सबैभन्दा बढी दशैंको बेला घर जाने हजारौं यात्रु मारमा परेका छन् ।

यसैबीच हिजो साँझ पहिरो झरेर अवरुद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड बिहान ३ बजेदेखि सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा हिजो साँझ पुनM पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । यता हिजो साँझ परेको भारी बर्षापछिपहिरो झर्दा अवरुद्ध धार्के सितापाइला सडक अझै सञ्चालनमा आएको छैन । काठमाडौं प्रवेश गर्ने वैकल्पिक सडकको रुपमा प्रयोग भइरहेको धार्के सितापाइला सडकको ठुलो खोला नजिकै हिजो राति ८ बजे झरेको पहिरो अझै पन्छाइएको छैन ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।