काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन आज बिहानदैखि देशभरिका देवी मन्दिरहरुमा भक्तजनको घुइचो लागेको छ । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना गरिदैछ ।
धार्मिक ग्रन्थअनुसार सृष्टि रचना हुनुअघि चारैतिर अन्धकार मात्र रहेको समयमा कुष्माण्डा देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी थिइन्। त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरूपा र आदिशक्तिका रुपमा मानिन्छ ।
कुष्माण्डा मातालाई अष्टभुजा पनि भनिन्छ। यिनको आठवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि–निधि प्रदान गर्ने माला रहेका छन्। सिंह यिनको वाहन हो।
धार्मिक मान्यताअनुसार देवीले सूर्य भगवानलाई आफ्नो तापशक्ति दिई प्रज्ज्वलित बनाएर सौरमण्डल र अन्य ग्रहहरूको समेत रचना गरेकी थिइन्।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।