सिन्धुपाल्चोकमा आएकाे पहिरोमा परि दुई बहिनी बेपत्ता

आश्विन ८, २०८२ |कमला पाख्रिन
सिन्धुपाल्चोकमा आएकाे पहिरोमा परि दुई बहिनी बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-१ ढाडे पहिरोमा परि दुई बहिनी बेपत्ता भएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटेफुल्पिङकी १७ वर्षीया फुलमाया लामा र उनकी ५ वर्षीया बहिनी मनमाया लामा सडक माथिबाट खसेको लेदोसहितको पहिरोमा परि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

जुगल गाउँपालिका-२ गोल्चेमा मामाघर जाँदै गरेकी दुई बहिनी घटनास्थलको सडक भन्दा तलै ब्रह्मायणी नदी बगिरहेकोले दुबै बहिनी नदीले बगाएको हुनुसक्ने आशंका प्रहरीले गरिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतको कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको भए पनि हालसम्म उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।