प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्नु भएको थियो ।

गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उहाँले देशवासीलाई सम्बोधन गर्न लाग्नु भएको हो ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ। उक्त मितिमा चुनाव गराउन राजनीतिक दलहरूबीच सहमति र समझदारीको खाँचो रहेकाले उहाँले निर्वाचनको वातावरण बनाउन आह्वानसमेत गर्नुहुने बताइएको छ ।

प्रधानमन्त्री कार्कीको सम्बोधनमा भदौ २३ र २४ गतेको प्रदर्शनमा निधन भएका ७४ जनाको परिवारलाई राहत, घाइतेहरूको उपचार लगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने प्रतिमृतक परिवार १५ लाखका दरले राहत उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय यसअघि नै गरिसकेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.