बुटवल । नेपाल-अंग्रेज युद्धका बेला बुटवलको जीतगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको थियो ।
त्यही गौरवगाथा बचाउन बुटवलमा निर्माण गरिएको युद्ध संग्राहलय भने वर्षौदेखि अलपत्र छ । यो हो बुटवलको जितगढी युद्ध संग्राहालय । नेपाल कब्जा गर्न आएको अंग्रेज फौज र तत्कालीन नेपाली फौजबीच भएको युद्धको झल्को दिनेगरी तत्कालिन युद्धका सामाग्री र स्मरण राख्न यो संग्राहलय निर्माण गरिएको हो ।
बुटवल उप-महानगरपालिका वडा नम्बर १ मा करिब ३ कठ्ठा जग्गामा युद्ध संग्राहलय बनाइएको छ । ३ तले संग्राहलय निर्माण भएको झन्डै ३ वर्ष पुग्यो । भवन, बाहिरी संरचना र मूलगेट बनेपनि संग्राहलयभित्र राख्ने बस्तु छनन् ।
तत्कालिन युद्धकालिन सामाग्री, हातहतियार, प्राचीन वस्तु, आन्तरिक र जनशक्ति ब्यवस्थापन कसरी कसले कहिले गर्ने हो टुंगो छैन । यसले संग्राहलय सञ्चालन अनिश्चित बनाएको छ ।
जीतगढी युद्ध संग्राहलय संघीय सरकारले बुटवल उपमहानगरपालिकाको समन्वयमा बनाएको हो । शिवशक्ति कन्स्ट्रक्सन प्रालि बानेश्वर काठमाडौंले २०७७ साल माघ २६ गते ठेक्का लिएको र २०८० असार मा बुटवल उप-महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
करिब ७ करोड रूपैयाँमा निर्माण भएको यो संग्राहलय सञ्चालन गर्न भित्री सजावट र सामाग्री खरीदमा मात्रै थप १२ करोड लगानी चाहिन्छ । रकम सुनिश्चित नहुँदा संग्राहलय भवन अलपत्र परेको हो ।
सन् १८१४ अर्थात विक्रम सम्वत् १८७२ मा नेपाल र अंग्रेज सेनाबीच युद्ध भएको थियो । जीतगढी किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालिन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाको फौजले झन्डै ३ महिना अंग्रेजसाग लडेको इतिहास छ ।
जताततै जितेका बेला यो गढीमा भने अंग्रेज फौजले हार व्यहोर्यो र फर्केर गयो । यस्तो गौरवमय इतिहास बोकेको युद्धको झल्को दिन बनाइएको जीतगढी संग्राहलय अलपत्र पन नदिन तीन तहकै सरकारले काम गर्नुपर्छ ।