धनकुटा । तिब्रगतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि धनकुटा प्रहरीले आइतबारबाट टाइमकार्ड लागु गरेको छ ।
धनकुटाको भेडेटार नाका भएर कोशी राजमार्गको धनकुटाभित्र गुड्ने सार्वजनिक सवारी साधनका लागि टाइमकार्डको व्यवस्था गरिएको हो ।
कोशी राजमार्गको भेडेटार-मुलघाट, धनकुटा-हिले, हिले-लेगुवा र सिंधुवा खण्डमा सवारीको गति निर्धारण गरिएको छ । भेडेटार मुलघाट १७ किलोमिटरका लागि ४०, मुलघाट धनकुटा १८ किलोमिटरका लागि ४०, धनकुटा हिले ३०, हिले लेगुवाघाट २६ किलोमिटरका लागि ५५ मिनेट र हिले सिंधुवाको १२ किलोमिटर दुरीका लागि २५ मिनेट समय तोकिएको छ ।
तोकिएको समय पालना नगर्ने सवारीसाधनका चालकलाई तिब्र गतिमा सवारी चलाएको कसुरमा कारबाही गरिने धनकुटाका प्रहरी उपरिक्षक शरत थापा क्षेत्रीले बताउनु भयो । यस्तै चालकहरूको आराम र सामान्य स्वास्थ्य जाँचको व्यवस्थाका लागि स्थानीयतह र यातायात व्यवस्था कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
भेडेटारमा आयोजित कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले यातायात व्यवसायी, चालक र यात्रुलेसमेत आफ्नो अनुशासन र जिम्मेवारी नभुल्ने हो भने टाइम कार्डको व्यवस्था कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभयो ।
यातायात व्यवसायी संघका कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठले सरकारका निकाय सडक अडिटमा चुक्दा पनि सवारी दुर्घटना र त्यसबाट हुने क्षति कम गर्न नसकिएको बताउनु भयो ।
साँगुरीगढी गाउँपालिका धनकुाटाका अध्यक्ष जीतेन्द्र रूम्दालीले यात्रुको सुरक्षा र दुर्घटना जोखिम न्यूनीकरणको अभियानमा साझेदारी गर्न आफुहरू तयार रहेको बताउनुभयो ।