प्रश्नपत्र लिकपछि फेरि उठ्यो त्रिविको परीक्षा प्रणालीमाथि प्रश्न

श्रावण ११, २०८३ |नारायण किलम्बू
प्रश्नपत्र लिकपछि फेरि उठ्यो त्रिविको परीक्षा प्रणालीमाथि प्रश्न

काठमाडौं । कहिले प्रश्नपत्र लिक, कहिले अघिल्लो वर्षकै हुबहु प्रश्न अनि कहिले उत्तरपुस्तिका नै गायब । 

यस्ता लापरवाही र त्रुटि बारम्बार दोहोरिन थालेपछि मुलुककै ठूलो र पूरानो उच्च शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको परीक्षाको विश्वसनीयतामै गम्भीर प्रश्न उब्जिएको छ । यस्ता घटनामा छानबिन समिति बने पनि दोषी औंल्याइएकाहरुमाथि कारबाहीमा उदासिनताले पटक-पटक घटना दोहोरिन थालेका छन् ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले सोमबारदेखि काम सुरु गरेको छ । यही साउन ८ गते सञ्चालित एमबीएस प्रथम वर्षको अर्गनाइजेसनल बिहेबियर विषयको प्रश्नपत्र बाहिरिएपछि सत्यत्थ्य पता लगाउन र दोषीलाई कारबाही गर्न विश्वविद्यालयले आइतबार तीन सदस्यीय समिति गठन गरेको थियो । 

त्यसो त प्रस्नपत्र लिक भएको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा पनि लिइसक्यो । अब यो विषयको परीक्षा के हुन्छ भन्न अन्योल विद्यार्थीमा छ । उच्चशिक्षाको ८० प्रतिशत विद्यार्थी पढ्ने त्रिविकै विश्वसनीयतामाथि धब्बा लाग्ने गरी भएको लापरबाही यो पहिलो होइन । 

२०७९ मा व्यवस्थापन संकायको परीक्षामा एउटा कलेजले लिएको प्रस्नपत्रकै हुबहु विश्वविद्यालयले सोधेपछि परीक्षा प्रणालीमाथि नै गम्भीर प्रस्न उब्जेको थियो । त्यसका बारेमा छानबिन गर्न पनि समिति बनेको थियो। समितिले घटनामा संलग्न रहेको भन्दै प्रश्नपत्र तयार गर्ने शिक्षक र डीन तथा परीक्षासम्बन्धी जिम्मेवारी पाएका सहायक डीनलाई कारबाहीको सिफारिस गरे पनि प्रश्नपत्र निर्माणमा संलग्न शिक्षकलाई मात्रै कारबाही भएको थियो।

यसबाहेक पनि कहिले उत्तरपुस्तिका हराउने त कहिले अघिल्लो वर्षकै प्रश्नहरु दोहोरिने घटनाले विश्वसनीयता र परीक्षा प्रणालीमाथि नै पटक-पटक प्रश्न उठ्ने गरेका छन् । हरेक घट्नापछि विश्वविद्यालयले छानबिन समिति पनि बनाउँछ । तर, न प्रतिवेदन कार्यान्वयन हुन्छ, न दोषीमाथि कारबाही । 

राष्ट्रिय परीक्षा बोर्डले गत असार ५ मा सार्वजनिक १२ कक्षाको नतिजा नतिजाप्रति असुन्तुष्ट विद्यार्थीले आन्दोलन गरेपछि शिक्षा मन्त्रालयले छानalन समिति गठन गरे पनि प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन् । 

कान्तिपुरलाई प्राप्त उक्त प्रतिवेदनमा पुनर्योगका लागि निवेदन दिएका विषयको उत्तरपुस्तिका पुन: परीक्षण गर्दा एक प्रतिशत त्रुटि भेटिएको र परीक्षक र संपरीक्षकलाई अभिमुखीकरण नगराएको पाइएको उल्लेख छ । यस वर्ष ४ लाख १८ हजार विद्यार्थीले १२ कक्षाको परीक्षा दिएकोमा १ लाख १५ हजार अर्थात् ३० प्रतिशत विद्यार्थी फेल भएका थिए । 

परीक्षा प्रणालीमा लापरबाही नभएको भए पनि परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका संशोधन गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ । विद्यालय होस् या विश्वविद्यालय तहको परीक्षा, परीक्षा शाखा, विषयविज्ञ शिक्षकदेखि डिन तथा परीक्षा प्रमुखसमेत गम्भीर हुन नसकेको प्रतिवेदनहरुले औल्याएका छन् ।

सम्बन्धित समाचार :

‘ह्वाट्सएप च्याट’ले खोल्यो प्रश्नपत्र लिकको रहस्य


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।