आठ वर्षपछि पनि अनुत्तरित प्रश्न : निर्मला पन्तको हत्यारा को ?

श्रावण ११, २०८३ |हरिश्चन्द्र बाग
आठ वर्षपछि पनि अनुत्तरित प्रश्न : निर्मला पन्तको हत्यारा को ?

आठ आठ वर्ष।।।

एक परिवारको अन्त्यहीन प्रतीक्षा।।।

एक बालिकाको खोसिएको भविष्य।।।

र एउटा यस्तो प्रश्न, जसको उत्तर राज्यसँग पनि छैन ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज आठ वर्ष पूरा भएको छ । देशभर आन्दोलन भयो, सरकार फेरिए, छानबिन समिति बने, सयौँ व्यक्ति अनुसन्धानको घेरामा परे । तर, आज पनि वास्तविक अपराधी को हो भन्ने प्रश्नको उत्तर छैन । न्यायको प्रतीक्षामा एउटा परिवारको जीवन बित्दै गएको छ ।

आठ वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले सिङ्गो देशलाई स्तब्ध बनाएको थियो । यो घटनाले न्याय प्रणालीमाथि गम्भीर प्रश्न मात्रै उठाएन, हजारौँ नागरिकलाई सडकमा उत्रिन पनि बाध्य बनायो । तर, आठ वर्ष बितिसक्दा पनि यो घटनाको वास्तविक अपराधी अझै कानुनको कठघरामा उभिएको छैन । 

निर्मलाले न्याय नपाउँदा उनका परिवारको पीडा झन् गहिरिँदै गएको छ भने राज्यको अनुसन्धानमाथिको जनविश्वास पनि निरन्तर कमजोर बन्दै गएको छ । २०७५ साल साउन १० गते । कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्किइन् । तर, उनी कहिल्यै घर फर्किनन् । 

भोलिपल्ट, साउन ११ गते।।। सालघारीको उखुबारीमा उनको शव भेटियो, बलात्कारपछि निर्मम हत्या गरिएको अवस्थामा । त्यो दिन एउटा परिवारको संसार मात्रै उजाडिएन, पूरै देश पनि स्तब्ध बन्यो । न्यायको आधार बन्नुपर्ने घटनास्थल नै सुरक्षित रहन सकेन । यथेष्ट प्रमाणहरू सङ्कलन भएनन् । अनुसन्धानमाथि प्रश्न उठे । 

डीएनए परीक्षणदेखि पोस्टमार्टम प्रतिवेदनसम्म विवादित बने । अनुसन्धानको विश्वसनीयतामै गम्भीर प्रश्न खडा भयो । निर्मलाको हत्याले देशभर आन्दोलनको ज्वारभाटा ल्यायो । सडकमा हजारौँ नागरिक उत्रिए । सामाजिक सञ्जाल न्यायको आवाजले भरिए । सदनसम्म प्रश्न उठे । आन्दोलनको क्रममा अर्का निर्दोष बालक सन्नी खुनाको गोली लागेर ज्यान गयो । दर्जनौँ घाइते भए । केहीले जीवनभरको अपाङ्गता बोके । तर, यी सबै बलिदानपछि पनि।।।

आठ वर्ष बितिसक्दा समेत वास्तविक अपराधी अझै कानुनी कठघरामा उभिएको छैन । यी आठ वर्षमा न्याय माग्दा माग्दै निर्मलाकी आमा दुर्गादेवी पन्तका आँखा थाकेका छन् । सायद आँसु पनि सकिएका छन् । अब उनीसँग प्रश्न छ, तर उत्तर छैन ।

आशा छ, तर भरोसा छैन । निर्मलाको परिवार मात्रै होइन, यो घटनाले राज्यको न्याय प्रणालीमाथि आम नागरिकको विश्वास पनि गम्भीर रूपमा कमजोर बनाएको छ । यस अवधिमा सयौँ व्यक्तिसँग सोधपुछ भयो । धेरैलाई नियन्त्रणमा लिइयो । केहीलाई थुनासम्म राखियो । तर, आज पनि एउटै प्रश्न अनुत्तरित छ, निर्मलाको वास्तविक हत्यारा को हो ? राज्य कहाँ चुक्यो ? यद्यपि नेपाल प्रहरीले भने अनुसन्धान अझै जारी रहेको दाबी गरिरहेको छ ।

घटना भएको आठ वर्ष बितिसक्दा पनि अनुसन्धान निष्कर्षमा नपुग्नुले धेरैलाई यो मुद्दा राज्यको प्राथमिकताबाट बाहिरिएको जस्तो महसुस हुन थालेको छ । राजनीतिक हस्तक्षेप, कमजोर अनुसन्धान र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले न्यायलाई झन् टाढा धकेलेको आरोप पनि लाग्दै आएको छ ।

आठ वर्षअघि निर्मलाको हत्या भयो । त्यसयता सरकार फेरिए, प्रहरी प्रमुख फेरिए, अनुसन्धान टोली फेरिए, तर फेरिएन न्याय नपाएको यो पीडा । निर्मलाको मुद्दा एउटा परिवारको मात्रै होइन, यो प्रत्येक नेपाली छोरीको सुरक्षासँग जोडिएको प्रश्न हो । 

जबसम्म वास्तविक अपराधी कानुनको कठघरामा उभिँदैन, तबसम्म निर्मलाको हत्या एउटा अधुरो अनुसन्धान मात्र होइन, नेपालको न्याय प्रणालीमाथिको जीवित प्रश्न बनिरहनेछ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।