‘ह्वाट्सएप च्याट’ले खोल्यो प्रश्नपत्र लिकको रहस्य

श्रावण १०, २०८३ |नारायण किलम्बू
‘ह्वाट्सएप च्याट’ले खोल्यो प्रश्नपत्र लिकको रहस्य

काठमाडौं । त्रिविको एमबीएसको प्रश्नपत्र परीक्षा सुरुभएको पाँच मिनेटमै बाहिरिएको प्रकरणमा दुई जना पक्राउ परेका छन् । 

यही साउन ८ गते एमबीएस फस्ट सेमेस्टरको अर्गनाइजेसनल बिहेबियर विषयको प्रश्नपत्र ह्वाट्स एप ग्रुपमार्फत बाहिरिएको हो । प्रश्नपत्र आउट भएकोबारे छानबिन गर्न त्रिवि व्यवस्थापन संकायले समेत तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

कसरी बाहिरियो प्रश्नपत्र ?

साउन ८ गते एमबीएस फस्ट सेमेस्टरको अर्गनाइजेसनल बिहेबियरको परीक्षाको दिन । मध्याह्न १२ बज्नेबित्तिकै प्रश्नपत्र बाँडियो । विद्यार्थीहरु उत्तर लेख्न व्यस्त भए । तर, १ हजार २३ सदस्य भएको 'एमबीएस फस्ट सेम सेक्सन सी' नामक ह्वाट्स ग्रुप भने सक्रिय थियो, जहाँ २४ जना अनलाइनमा देखिन्थे ।

१२ बजेर ५ मिनेटमा सुलभ सर नामक प्रयोगकर्ताले प्रश्न पठाए । त्यसको एक मिनेटमै एक विद्यार्थीले लेखे- सर सोलुसन नि पठाइ दिनु न। एक मिनेटमा सुलभ सरको उत्तर आयो-हस । सोलुसन मागेका विद्यार्थीले पुनः लेखे-पेपर वाइज ।

अर्का विद्यार्थीले भ्वाइस मेसेज पठाए । त्यसपछि १२ बजेर २७ मिनेटमा सुलभ सरबाट ८ पेजको पीडीएफ फाइल ग्रुपमा आइपुग्यो । विद्यार्थी र सुलभ सरबीचको छलफल चल्दै जाँदा ह्वाट्स ग्रुपमा पनि अनलाइनमा आउने संख्या पनि थपिँदै गयो । २ बजेसम्ममा ३५ जना अनलाइनमा देखिए ।

एक विद्यार्थी सोध्छन्-३० मिनेट ढिला एक्जाम हलमा जान दिन्छन् । यदि कसैलाई थाहा छ भने रिप्लाई गर्नुस् न है । अर्का विद्यार्थीको जवाफ हुन्छ- डिपेन्ड्स अपन सेन्टर जस्तो लाग्छ है, अर्थात् ढिला जान दिने कुरा सेन्टरमा भर पर्छ । यस क्रममा सुलभ सरले प्रश्नको जवाफ लेखिरहेका हुन्छन् । 

एक जना विद्यार्थीले भन्छन्- अब इकोमा ढिला जान पर्ला सर, क्वेसन हाल्दिनु होला त यसरी । प्रश्नपत्र सामाजिक सञ्जालमा छताछुल्ल भएपछि विद्यार्थी संगठनहरु र त्रिविसम्बद्ध सामाजिक सञ्जालहरुले आपत्ति जनाउँदै त्रिविको ध्यानाकर्षण गराउन थाले ।

त्यसपछि त्रिवि प्रशासन बल्ल तातियो । व्यवस्थापन संकायका तर्फबाट डीन कार्यालयका महानन्द चालिसले छानबिनका लागि अनुरोध गर्दै साइबर ब्यूरोमा आधिकारिक रुपमा पत्राचार गर्नुभयो । पत्रमा सम्बन्धित व्यक्ति, संस्था तथा केन्द्रको पहिचान गरी हदैसम्म कारबाही गर्न माग गरिएको चालिसेले बताउनुभयो ।

प्रश्नपत्र लिक प्रकरण बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेल आफैंले चासो लिनुभयो । उहाँले प्रधानमन्त्री र गृह मन्त्रीसँग परामर्शपछि शनिबार राति नै महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छलफल गर्नुभयो । त्यसपछि आइतबार बिहानै दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइयो ।

मन्त्री पोखेरेलले यसअघि पनि यस्ता घटना हुने गरेको पाइएको उल्लेख गर्दै त्रिविको छविलाई धमिल्याउने यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर रहेको पनि बताउनुभएको छ । त्रिविले समेत यो प्रकरणमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । 

व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको आइतबार बिहान बसेको बैठकले प्राडा अच्युतप्रसाद ज्ञवालीको संयोजकत्वमा अनुगमन निर्देशनालयका उपनिर्देशक पुस्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य महेशराज ओझा सदस्य रहेको समिति गठन गरेको हो । 

प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएकाले छानबिन गर्न समिति गठन गरिएको त्रिविले जनाएको छ । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले पनि प्रश्नपत्र बाहिरिएको सम्बन्धमा दुई दिनभित्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । 

स्ववियु सभापति दीपक जोशीले व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा पनि माग गर्नुभएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुलभ सर भन्ने व्यक्तिसमेत छन्, जसको नाम सार्वजनिक भएको ह्वाट्स एपका स्क्रीनसटमा समेत देखिएको छ । तर, पक्राउ पर्नेको विवरण खुलाइएको छैन ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।