महँगी बढ्यो, कमाइले साथ दिएन

श्रावण ११, २०८३ |सुदिल पोखरेल
महँगी बढ्यो, कमाइले साथ दिएन

काठमाडौं । नागरिकको आम्दानी केही वर्षयता बढ्न सकेको छैन । बढिहाले पनि महँगीको अनुपातमा त्यो न्यून छ । 

अझ व्यवसाय गर्नेहरूको त आम्दानी पहिलेभन्दा झनै घटेको उनीहरूले सुनाएका छन् । यसले नागरिकको जीवनस्तरमा आउन नसकेको सुधार त इंगित गरेको छ नै, अर्कोतिर राजस्वमा पनि असर गरेको छ ।

केही वर्षयता न व्यक्तिको आम्दानी बढ्न सकेको छ, न ठूला कम्पनीहरूको नै । तलब र ज्याला दुई वर्षयता केही बढेको देखिए पनि महँगीको अनुपातमा थोरै नै छ । जस्तो, आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा २ दशलमव सात दुई प्रतिशतले महँगी बढ्दा ज्याला २ दशमलव छ दुई प्रतिशतले मात्र बढेको थियो । 

आर्थिक वर्ष २०८२/८३ मा भने गत जेठसम्म महँगी ५ दशमलव दुई दुई प्रतिशतले बढ्दा ज्याला तथा तलब ६ दशमलव तीन शून्यले बढेको थियो । यी दुवै वर्षमा अझ व्यवसाय गर्नेहरूको आम्दानी त झनै घटेको छ । साना व्यवसायी मात्रै हैन, ठूला संस्थाकै आम्दानी घटेको तथ्यांकले देखाउँछ । 

व्यवसायीले पैसा तिर्न नसकैका कारण २०८१ चैतमा औसत ४ दशलमव आठ नौ प्रतिशत रहेको खराब कर्जा २०८२ को चैतमा पाँच दशमलव दुई पाँच प्रतिशत पुगेको छ । यति मात्रै हैन नियमित ब्याज नउठ्दा चैतसम्म ७ वटा बैंकको नाफा नै घटेको छ । यसको प्रत्यक्ष असर राज्यको राजस्वमै पनि परेको छ । 

जस्तो, २०८१/८२ मा २ खर्ब ९२ अर्ब आयकर उठेकामा आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब २ अर्ब मात्रै उठेको छ । अर्थात् आयकर जम्मा ३ दशमलव चार प्रतिशत मात्रै बढेको छ । अर्थतन्त्र विस्तारको अनुपातमा आयकरमा भएको यो न्यून वृद्धि हो । यसले उपभोग बढेको तर मानिसहरूको आयआम्दानी भने त्यसैअनुरूप बढ्न नसकेको देखिने अर्थविद् बताउँछन् । 

यसको अर्थ हो, जनताको कमाइ बढेन। त्यसको प्रभाव सरकारको कमाइमा पनि पर्‍यो। कुल राजस्वमा सबैभन्दा बढी ३० देखि ३५ प्रतिशत हिस्सा आयकरको छ । तर, राजस्व असुली वार्षिक लक्ष्यको ८४.०६ प्रतिशत उठ्दा आयकर भने जम्मा लक्ष्यको ७५ प्रतिशत मात्रै उठेको छ । 

आन्तरिक आर्थिक गतिविधिमा सुस्तता, निजी क्षेत्रको नाफा र लगानी विस्तारमा आएको मन्दीका कारण आयकर लक्ष्यभन्दा निकै कम उठिरहेको हो । आर्थिक शिथिलताका कारण आयकर लक्ष्यअनुसार उठाउन नसकिएको र शिथिलताको मार सरकारलाई समेत परेको आन्तरिक राजस्व विभाग स्वीकार गर्छ । 

अर्थतन्त्रको आकार बढ्नु तर आयकर त्यही मात्रामा नबढ्नुले बढेको अर्थतन्त्रको लाभ नागरिकले पाउन सकेका छैनन् भन्ने देखाउँछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।