सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-११, छपराडीस्थित गोर्खाज फाइनान्सको कार्यालयमा दुई वर्षअघि भएको डकैती घटनाका मुख्य प्रतिवादी पक्राउ परेका छन् । डकैतीका मुख्य प्रतिवादी लहान नगरपालिका-२० का ४५ वर्षीय श्रीदेव महतो पक्राउ परेका हुन् ।
महतोलाई बरियारपट्टी गाउँपालिका-३ चमार टोलबाट शनिबार साँझ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । उनलाई सिरहा जिल्ला अदालतमा पेश गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताएउनुभयाे ।
महतोलगायतको एक समूह २०७९ चैत १४ गते राति करिब सबा १२ बजेको समयमा नाकाब धारण गरेर गोर्खास फाइनान्सको कार्यालयमा पसेका थिए । उनीहरूले कार्यालय भवनको तल्लो तल्लामा बस्ने कर्मचारीहरूलाई पेस्तोल तथा धारिलो हतियार देखाएर कुटपिट गर्दै नशाको सुईसमेत लगाई लुटपाट गरेका थिए ।
उनीहरूले सो क्रममा २ लाख ५७ हजार २ सय ७९ रूपैयाँ नगद र तीन थान मोबाइल लुटपाट गरी लगेका थिए । यस्तै, उनीहरूले कार्यालयको जिन्सी सामानहरूसमेत तोडफोड गरी १० लाख २८ हजार ७ सय १४ रूपैयाँको क्षति पुर्याएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
यो घटनामा प्रहरीले चोरी, डाँका, शरीर बन्धक तथा संगठित अपराध शिर्षकमा ११ जनाविरूद्ध मुद्दा चलाएको थियो । जसमा यसअघि नै तीन जना पक्राउ परिसकेका छन् । यसमध्ये दुई जना पूर्पक्षका लागि कारागारमा छन् भने एकजना धरौटीमा रिहा भएका थिए ।