अमेरिकी व्यवसायी इलोन मस्क ८ सय विलियन सम्पत्तिसहित विश्वकै पहिलो धनाढ्य

फाल्गुन २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी व्यवसायी इलोन मस्क ८ सय विलियन सम्पत्तिसहित विश्वकै पहिलो धनाढ्य

काठमाडौं । अमेरिकी व्यवसायी इलोन मस्क फोर्ब्स म्यागेजिनले निकालेको विश्वकै धनाढ्यको सूचीमा पहिलो नम्बरमा कायम रहनुभएको छ ।

यो सूचीमा विश्वभरका ३ हजार ४ सय २८ जना खर्बपतिहरुको नाम समावेश छ । गत वर्षको दाँजोमा ४ सय जना खर्बपति बढेका हुन् । यी सबै खर्बपतिहरुको सम्पत्ति जोड्दा किर्तिमानी २० दशमलव १ ट्रिलियन अमेरिकी डलर हुन आउँछ ।

टेस्ला र स्पेस एक्सका सिईओ मस्कको सम्पत्ति सन् २०२५ को दाँजोमा ४ सय ९७ बिलियनले बढेको छ । उहाँको कुल सम्पत्ति ८ सय ३९ बिलियन पुगेको छ । सूचीको दोस्रो स्थानमा रहनुभएका लारी पेजको सम्पत्ति २ सय ५७ बिलियन डलर छ । त्यस्तै तेस्रो स्थानका सर्जेइ ब्रिनको सम्पत्ति २ सय ३७ बिलियन डलर, चौथो स्थानमा जेफ बेजोसको सम्पत्ति २ सय २४ बिलियन डलर र फेसबुकका संस्थापक मार्क जुकेरवर्गको सम्पत्ति २ सय २२ बिलियन डलर छ । 

कुनै समय विश्वकै धनाढ्य व्यक्ति रहेका बिल गेट्स अहिले १९ औं नम्बरमा हुनुहुन्छ । उहाँसँग १ सय ८ बिलियन डलर बराबरको सम्पत्ति छ । यता नेपालका उद्योगपति विनोद चौधरी खर्बपतिहरूको सूचीमा १९८२ औं स्थानमा हुनुहुन्छ । उहाँको सम्पत्ति २ दशमलव १ बिलियन डलर छ । गत वर्ष चौधरीको सम्पत्ति २ बिलियन डलर थियो ।