एन्फा लिग : एनआरटी र लालीगुराँस एसोसिएसनबीचकाे खेल बराबरीमा

फाल्गुन २७, २०८२ |खेल ब्युरो
एन्फा लिग : एनआरटी र लालीगुराँस एसोसिएसनबीचकाे खेल बराबरीमा

काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम-एनआरटीले लालीगुराँस एसोसिएसनसँग १-१ गोलको बराबरी खेलेका छन् ।

अंक बाँड्न बाध्य भएपछि लालीगुराँसले शीर्ष दुईमा प्रवेश गर्ने अवसर गुमायो भने एनआरटी तेस्रो स्थानमा उक्लिन असफल भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १७ औं मिनेटमा एनआरटीका मनिष डाँगीको फ्रि-किक लालीगुराँसका गोलकिपर कुम्बा देउबाले उत्कृष्ट बचाउ गर्दैसंकट टारे ।

२६ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले विवेक गुरुङको फ्रिकिकमा सानदार फिनिस गरेका हुन् । ३९ औं मिनेटमा लक्षु थापाको प्रयास एनआरटीका गोलरक्षक विशाल सुनारले असफल पारे ।

त्यसपछि केही सुस्त बनेको खेलमा वैकल्पिक खेलाडी आशिष गुरुङले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेपछि लालीगुराँस अंक खोस्न सफल भयो । आशिष खेलको ७२ औं मिनेटमा अब्दुल युसुफ हाउको प्रतिस्थापनको रुपमा मैदान प्रवेश गरेका थिए । बराबरीसँगै लालीगुराँस १० खेलमा २० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने १० खेलमा १९ अंक जोडेको एनआरटी सातौं स्थानमा छ ।