बाढीले बगाएको सडककाे डाइभर्सन बनाउने तयारी, पैदलमार्ग भने खुलाइयो

जेष्ठ १७, २०८२ |विनोद घिमिरे
बाढीले बगाएको सडककाे डाइभर्सन बनाउने तयारी, पैदलमार्ग भने खुलाइयो

धनकुटा । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मुलघाट-सिम्सुवाखण्ड बिहानैदेखि अवरूद्ध छ । साँगुरीगढी गाउँ पालिका-६ स्थित फेदीमा ५० मिटर कालोपत्रे सडक बगाएको र करिब ५० संरचना भत्काएको छ । 

सडक बगाएपछि यातायात र ढुवानीका साधन वारीपारी रोकिएका छन । लेउती खोलाको बाढी नघटेकाले डाइभर्सनका लागि डोजर र स्काभेटर जस्ता उपकरण तत्काल खोलामा पठाउन नसकिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले बताउनु भयो । 

पानी घट्नासाथ डाइभर्सन निर्माणको काम थाल्ने पोख्रेलको भनाइ छ । बाढीले सडक बगाएपछि धनकुटासहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तमोरकरिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउने यातायात र ढुवानी अवरूद्ध भएको छ ।

सेना र प्रहरीको टोलीले वारीपारी रहेका सवारीसाधन प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाउन सहजीकरण गरिरहेको छ । 

सडक बगाएपछि अवरूद्ध पैदलमार्ग नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खुलाएको छ । पानी परिरहेकाले डाइभर्सन बनाउन समस्या भैरहेको छ । लेउती खोलामा पानी घट्ने बितिकै डाइभर्सनको काम थाल्ने पोख्रेलले बताउनुभयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।