
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौँ उपत्यकामा भत्काइएको सुकुम्वासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिनुभएको छ । भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखेका छन् ।
पीडितहरूले हालैको वर्षा र बाढीका कारण आफ्नो उठिबास भएको र बस्ने–खाने कुनै ठेगान नभएको बताएका छन् । बाढीले घरभित्रका सामान निकाल्न समेत नपाएको र विद्युतका मिटरहरू डुबेर लाइन काटिएपछि थप अन्धकारमा बस्नुपरेको उनीहरूको भनाइ छ । यस्तो विषम परिस्थितिमा पनि सम्बन्धित निकायले समस्या समाधान गर्नुको साटो ‘कालोसूचीमा राख्ने’ वा ’सामान सिज गरिदिने’ जस्ता धम्कीपूर्ण कुरा गरेर मानसिक तनाव दिएको उनीहरूले उल्लेख गरे ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का एक पीडितले आफ्नो दुःख व्यक्त गर्दै भने, “म दशरथ रंगशाला गएँ, त्यहाँ बन्द भनियो । प्रहरीलाई सम्पर्क गर्दा नगरपालिका जान भनियो र नगरपालिका पुग्दा पुनः गुहेश्वरी पठाइयो । यसरी एक निकायबाट अर्को निकायमा पठाइए पनि कतैबाट कुनै ठोस सहयोग प्राप्त हुन सकेन ।”
भेटघाटका क्रममा डा. भट्टराईले उनीहरूको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो । उचित व्यवस्थापनका लागि नाम दर्ता गराउन र कानुनी प्रक्रियामार्फत अघि बढ्न पनि सुझाव दिनुभयो । “हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ । कसैलाई पनि अन्याय हुन दिनुहुँदैन”, भट्टराईले भन्नुभयो, “तपाईंहरूले आफ्नो विवरण र प्रमाणहरू पेश गर्नुस्, कानुनी तरिकाले समस्याको समाधान खोज्न हामी साथ दिनेछौँ ।”
बस्ती भत्काइएपछि खुला आकाशमुनि बस्न बाध्य भएका ती परिवारले हाल खाद्यान्न र सुरक्षित आवासको तत्काल व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।