
काठमाडौँ । सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले राजीनामा दिनुभएको छ । तीनै जनाले आजै त्रिवि कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाहको कार्यालयमा राजीनामा बुझाउनुभएको हो । नयाँ सरकारलाई सहयोग गर्न भन्दै आफूहरूले राजीनामा दिएको रजिस्ट्रार केदारप्रसाद रिजालले जानकारी दिनुभयो ।
नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि आफूहरुले आपसी सल्लाह गरेर राजीनामा दिएको रिजालको भनाइ छ । सामूहिक सल्लाह गरे पनि राजीनामा भने अलग अलग नै बुझाइएको उहाँले जानकारी दिनुभयो ।
कुलपति अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ असार २५ गते नियुक्त गर्नुभएको थियो ।
रेक्टर केसी र रजिस्ट्रार रिजाल भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा २०८० चैत ३० गते नियुक्त हुनुभएको थियो । ४ वर्षको कार्यकाल रहने त्रिविका पदाधिकारीलाई कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था छ ।
सत्तारुढ दल रास्वपाका नेताहरुले चुनावी परिणाम आएपछि नै सार्वजनिक पदमा रहेकाहरुलाई राजीनामा दिन आग्रह गर्दै आएका थिए । अहिले सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।