नारायणघाट-मुग्लिङ सडकखण्डमा दुई ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते

जेष्ठ ८, २०८२ |राजु चौधरी
नारायणघाट-मुग्लिङ सडकखण्डमा दुई ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते

चितवन । चितवनको नारायणघाट-मुग्लिङ सडक खण्डमा दुई वटा ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते भएका छ ।

भरतपुर-२९ गाइघाटमा आज बिहान ६ बजेर ५० मिनेटमा नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक-आपसमा ठक्कर खाँदा २ वटै सवारी साधनको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनामा ट्रक चालकसहित ७ जना घाइते भएका छन ।

घाइते हुनेमा ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई-७ बस्ने वर्ष २५ को जयकान्त राय यादव सोही स्थानका वर्ष २५ को हरिशंकर यादव, वर्ष २० का आकाश यादव, वर्ष २० का रबि कुमार यादव, वर्ष १९ का अनिल कुमार यादव रहेका छन । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर-१२ मुनालचोक बस्ने वर्ष ३७ का सन्तोष सुबेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरूडा-५ बस्ने वर्ष ३४ का धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पुर्णरूपमा संचालनमा आएको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।