दक्षिण एशियामा अहिले शान्ति खलबलिएको अवस्था छ । भारत र पाकिस्तानबीचको द्वन्द्व क्षेप्यास्त्र र ड्रोन आक्रमणको तहसम्म पुगेको छ, जसले यी दुई मुलुकलाई मात्र होइन, दक्षिण एसिया क्षेत्रलाई नै अशान्त बनाइरहेको छ । परमाणु हतियार सम्पन्न दुई छिमेकी मुलुकको तनावले नेपाली जनमानसमा पनि गम्भीर चिन्ता पैदा गरेको छ । किनकि, हाम्रो भारतसँग खुला सिमाना छ । हाम्रा धेरै नागरिक भारतमा अध्ययन, व्यापारदेखि रोजगारीको सिलसिलामा बसेका छन् । हाम्रो आयातको मूल मार्ग भारत नै हो । हाम्रो भान्सादेखि विकास निर्माणसम्मका धेरैजसो काममा भारतका उत्पादनको प्रभाव छ ।
परम्परागत शत्रुता भएका भारत र पाकिस्तान अहिले युद्धको स्थितिमा पुग्नुको पछिल्लो कारण हो, कश्मिरको पहलगाममा भएको आतंकवादी हमला । जहाँ, एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ पर्यटक मारिए । भारतले पहलगाम घटनाका आतंककारीलाई संरक्षण गरेको भन्दै पाकिस्तानका केही स्थानमा क्षेप्यास्त्र आक्रमण गरेपछि अहिले दुवै देश लडाइँको सम्मुख छन् । एकअर्काबीच आक्रमण र प्रत्याक्रमणको क्रम सुरु भइसकेको छ । यस्तो अवस्थामा- यो द्वन्द्वको असर नेपाल र नेपालीलाई पनि पर्ने अवश्यम्भावी छ ।
नेपाल, यिनै दुई देशको बीचमा रहेको पञ्चशिलको सिद्धान्त मान्ने एक असंलग्न र शान्तिप्रेमी राष्ट्र हो । तर भौगोलिक निकटता, खुला सिमाना, व्यापारिक निर्भरता र सांस्कृतिक सम्बन्धका कारण नेपाल यस्ता द्वन्द्वबाट निरपेक्ष र प्रभावहीन रहन सक्दैन । युद्धको प्रत्यक्ष चपेटामा नपरे पनि अप्रत्यक्ष प्रभाव भने गहिरो र दीर्घकालीन हुन्छ, चाहे त्यो आर्थिक अवरोध होस्, आप्रवासी संकट होस् वा कूटनीतिक दबाब ।
दुई छिमेकीबीचको द्वन्द्व केवल दक्षिण एसियाको लागि मात्र खतरा बनेको छैन, विश्वव्यापी तनावको अर्को अध्याय पनि बन्न थालेको छ । आज विश्वकै विभिन्न कुनामा युद्ध र हिंसा उग्र बनिरहेका छन् । इजरायल–हमास, रुस–युक्रेन युद्धका साथै यमनमा हुथी विद्रोह, सुडानको गृहयुद्ध, इजरायल–इरान सम्भावित टकराव र अमेरिका–चीनबीचको व्यापारयुद्ध, —यी सबैले वैश्विक व्यवस्था अस्थिर बनाएका छन् । यस्ता द्वन्द्वहरूले मानवता, लोकतन्त्र, मानवअधिकार र समृद्धिको सपना टुटाउने खतरा बढाएका छन् ।
दोस्रो विश्वयुद्धपछि मानव सभ्यताले 'युद्धले केही दिँदैन' भन्ने पाठ सिकेको थियो । तर आज फेरि नवराष्ट्रवाद, राजनीतिक स्वार्थ र शक्ति प्रदर्शनको दौडले विश्वलाई पछाडि फर्काउने खतरा उत्पन्न भएको छ । खासगरी भारत र पाकिस्तान जस्ता परमाणु शक्तिहरूबीचको युद्धले केवल उनीहरूलाई मात्रै होइन, छिमेकी राष्ट्र र सिङ्गो विश्वलाई गम्भीर संकटमा पार्न सक्छ ।
नेपालले स्पष्ट सन्देश दिएको छ कि नेपाल आतंकवादको विरुद्धमा छ र आतंकवादविरुद्धको लडाइँमा जो कसैलाई पनि नेपालले साथ दिन्छ । तर यसको अर्थ आज भारत र पाकिस्तानबीच द्वन्द्व चर्किँदा नेपाल न भारतको पक्षमा हो, न त पाकिस्तानको ।
नेपालले यति बेला स्पष्ट र सन्तुलित कूटनीतिक पहल थाल्न आवश्यक छ- शान्तिको पक्षमा, युद्धको विरुद्ध र कुनै पनि प्रकारको आतंकवादको विरुद्धमा । हामीले हाम्रो असंलग्न परराष्ट्र नीतिलाई व्यवहारमा उतार्दै भारत र पाकिस्तान दुवैलाई वार्तामार्फत समाधान खोज्न प्रोत्साहन गर्नुपर्छ । यसका लागि क्षेत्रीय संस्था सार्कको मञ्च पुनः सक्रिय बनाउन पनि नेपालले पहल लिनुपर्छ ।
युद्ध जब सुरु हुन्छ, तब विवेक बन्द हुन्छ र अहंकार मात्र बाँकी रहन्छ । अनि अन्ततः हराउँछ मानवता । युद्धमा जित्ने कोही हुँदैन, हार सबैको हुन्छ । त्यसैले आजको आवश्यकता हो- शान्तिको आवाज बुलन्द बनाउने, आक्रोशलाई संवादमा रुपान्तरण गर्ने । तसर्थ, विश्व शान्ति तथा क्षेत्रीय सहअस्तित्व कायम राख्न असंलग्नतामा विश्वास गर्ने नेपाल जस्ता राष्ट्रको भूमिका निर्णायक बन्न सक्छ ।