काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नेकपा एमालेले नै बाटो छेकेको छ । दुई कार्यकाल राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा पुनरागमनको प्रयासलाई एमाले रोकेको हो । अब भण्डारी सामू के छन् त विकल्प ?
'मदनको नीति, विद्याको नेतृत्व' को नारा प्रचारमा ल्याएर नेकपा एमालेमार्फत् सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आकांक्षामा ठेस लागेको छ । मातृ पार्टी एमालेले विद्याको आकांक्षालाई खारेज गरिदिएको हो । अब उहाँको पार्टी सदस्यता नै नवीकरण नहुने भयो ।
एमालेको नेतृत्वसम्मै पुग्ने लक्ष्य तत्कालका लागि पूरा नहुने भएपछि अब भण्डारीका सामु ५ विकल्प देखिन्छन् ।
१- आन्तरिक कारण जेसुकै भए पनि एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्नुमा जुन कारण देखाएको छ, त्यो हो – राष्ट्रप्रमुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु गणतन्त्रको मर्यादाअनुरूप होइन । मुलुकको सर्वोच्च ओहोदामा रहिसकेको व्यक्ति फेरि पार्टी राजनीतिमा फर्किनु मनासिब होइन । यसर्थ भण्डारीका लागि अहिले सर्वोत्तम विकल्प भनेकै राजनीतिक आकांक्षालाई तिलाञ्जली दिएर पूर्वराष्ट्रपतिकै रूपमा अभिभावकीय भूमिकामा रहनु हो ।
२- एमालेले ११औं महाधिवेशनमा केपी ओलीलाई नै सर्वसम्मत रूपमा अध्यक्षका रूपमा अघि बढाउने र २०८४ सालको निर्वाचनमा उहाँकै नेतृत्वमा गएर पार्टीलाई बलियो स्थानमा पुर्याउने लक्ष्य लिएको छ । यो लक्ष्यमा वाधा पुर्याउन सक्ने कुनै पनि कदमलाई उसले निस्तेज पार्न प्रयास गर्नेछ । तर एमालेबाहेक अन्यत्रको बाटो नलिने हो भने भण्डारीका लागि अर्को विकल्प छ– अहिलेलाई पार्टीबाहिरै रहने, एमालेमा आफ्नो पक्षमा समर्थन जुटाउँदै जाने र पार्टीको निर्णायक तहमा आफ्नो पक्षमा बलियो मत बनेको अवस्थामा फर्किने बाटो खुला गराउने । यो बाटो कठिन र लामो देखिन्छ । तर एमालेमा अहिले उहाँको समर्थनमा नखुलेकाहरू विस्तारै खुल्दै जाने सम्भावना नभएको चाहिँ होइन । भण्डारीको हालको सक्रियताले एमालेमा सुरू गरेको हलचल तत्काल मत्थर हुने पनि छैन।
मुलुकको सर्वोच्च ओहोदामा रहिसकेको व्यक्ति फेरि पार्टी राजनीतिमा फर्किनु मनासिब होइन । यसर्थ भण्डारीका लागि अहिले सर्वोत्तम विकल्प भनेकै राजनीतिक आकांक्षालाई तिलाञ्जली दिएर पूर्वराष्ट्रपतिकै रूपमा अभिभावकीय भूमिकामा रहनु हो ।
३- के एमालेले भण्डारीलाई भोलि पार्टी नेतृत्वको आकांक्षा नराख्ने शर्तमा कुनै भूमिका सिर्जना गर्न सक्छ ? भण्डारीप्रति सद्भाव राख्ने केहीले यो विकल्प नसुझाएका होइनन् । तर पार्टी नेतृत्व अहिलेकै अवस्थामा यो विकल्प सुन्ने मुडमा छैन । राष्ट्रिय महाधिवेशनसम्म पर्खने हो भने एमालेले आफ्ना पुराना नेताका लागि यस्तो व्यवस्था नगर्ला भन्न सकिन्न। स्वयम् अध्यक्ष ओलीलाई भोलि आफ्नै शक्ति बढाउने र निर्वाचनमा पार्टीको जनमत बढाउन भण्डारीको भूमिका सहायक हुन सक्ने लाग्यो भने भूमिका प्राप्त गर्न यो विकल्प हुन सक्छ । तर त्यो भूमिका कस्तो हुन सक्छ ? एमाले नेतृत्व र भण्डारीमै भर पर्छ । अध्यक्ष ओलीलाई नचिढ्याउने बरू विश्वासमा लिँदै जाँदा भण्डारीलाई पार्टीमा भूमिका दिने योजना अध्यक्षबाटै आउन पनि सक्छ ।
पार्टीभन्दा बाहिर रहेर कुनै पनि धारभन्दा निरपेक्ष रहँदै कम्युनिष्ट आन्दोलनको वैचारिक धारको नेतृत्व गर्ने विकल्प भण्डारीसँग छ।
४- भण्डारी सामुन्ने भएको अर्को विकल्प हो, नयाँ पार्टी खोल्ने । नैतिकरूपमा यो बाटो पनि प्रश्नयोग्य हो । आफ्ना स्वर्गीय पति मदन भण्डारीको आदर्श जनताको बहुदलीय जनवादलाई एमालेले आफ्नो मार्गनिर्देशक सिध्दान्त मानेको छ । यो अवस्थामा त्यही आदर्श बोक्ने अर्को पार्टी खोल्नु सहज हुने छैन । त्यतिमात्र होइन, लामो समय संगठनबाट बाहिर रहेका व्यक्तिलाई पार्टी नै खडा गर्न सहज छैन । सँगै, पूर्वराष्ट्रपतिको नेतृत्वमा पार्टी दर्ता गर्न पनि वैधानिक प्रश्नहरू उब्जिनेछन् । ती प्रश्न चिर्न सकेको अवस्थामा भने छरिएका कम्युनिष्ट घटकलाई एकताबद्ध गर्न उहाँले सक्नुहुनेछ ।
५- यसबाहेक भण्डारीका लागि अर्को विकल्प पनि छ । नेपाली कम्युनिष्ट आन्दोलनका आदर्श पात्र मदन भण्डारीकी पत्नी विद्यासँग राष्ट्रप्रमुख भएर दुई कार्यकाल सम्पन्न गरेको अनुभव छ। त्यसअघि कम्युनिष्ट आन्दोलनमार्फत् संघर्ष गरेको विगत छ । पार्टीमा दुईपटक उपाध्यक्षमा निर्वाचित भएको र दुईपटक महत्वपूर्ण जिम्मेवारीका साथ मन्त्री भएको अनुभव पनि उहाँसँग छ। राष्ट्रपति रहँदा संविधानको संरक्षण, राष्ट्रिय एकताको प्रतिकका रूपमा उभिने भूमिका निर्वाह गर्दै नेपाली सेनाको परमाधिपतिको भूमिकामा समेत उहाँ रहनुभयो । पार्टीभन्दा बाहिर रहेर कुनै पनि धारभन्दा निरपेक्ष रहँदै कम्युनिष्ट आन्दोलनको वैचारिक धारको नेतृत्व गर्ने विकल्प भण्डारीसँग छ।