देश विकासमा रिटर्नीलाई कसरी बनाउने ‘ह्युमन क्यापिटल’ ?

वैशाख २४, २०८२ |जितेन्द्र बानियाँ
देश विकासमा रिटर्नीलाई कसरी बनाउने ‘ह्युमन क्यापिटल’ ?

देशको समग्र विकासका लागि मानव संसाधन, पूँजी, प्रविधि, र ज्ञान अत्यावश्यक तत्त्वहरू हुन् । ती सबै कुराको समुचित संयोजनबिना कुनै पनि देशले दिगो र समावेशी विकास हासिल गर्न सक्दैन । आजको सन्दर्भमा, देशमा उद्यम व्यवसाय र अन्य सीपयुक्त्त काम गर्नका लागि देशको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ ।

विश्व चौथो औधोगिक क्रान्तिमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा हामी कृषि क्रान्तिको युगलाई नै आत्मसात गर्न सकिरहेको अवस्था छैनौं र आजको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था देशभित्र छैन र उच्च शिक्षा हासिल गर्नासाथ विदेश पलायन हुने संस्कृतिको विकास भइरहेको छ ।

अर्कोतर्फ लाखौं नेपाली विदेशमा रोजगारी, अध्ययन वा व्यवसायका लागि गएका छन् । उनीहरूले विदेशमा आर्जन गरेको पूँजी, हासिल गरेको प्रविधिको ज्ञान तथा भोगेको सीप र अनुभवलाई मातृभूमिको हितमा प्रयोग गर्न सकेमा देशको रूपान्तरण सम्भव हुन्छ । नेपालजस्तो श्रम र सीप निर्यात गर्ने मुलुकका लागि प्रवासी नेपालीहरू र रिटर्नीहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन् । उनीहरूको पूँजी, प्रविधि, र अनुभवबिना दिगो विकासको कल्पना गर्न गाह्रो हुन्छ । तसर्थ, राष्ट्रले प्रवासी र रिटर्नीहरूलाई स्वागत गर्ने, उनीहरूको योगदानलाई संस्थागत गर्ने र आवश्यक पूर्वाधार तथा नीतिहरू निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्छ । तब मात्र देशको समुन्नत र समृद्ध भविष्य सुनिश्चित गर्न सकिन्छ ।

नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि समृद्धिको मार्ग मानव संसाधन, पूँजी, प्रविधि र ज्ञानको प्रभावकारी प्रयोगमा निर्भर हुन्छ । विडम्बना, यी सबै क्षेत्रमा नेपाल भित्रका स्रोतहरू अपुग छन् । यिनको अभाव पूर्ति गर्ने महत्त्वपूर्ण आधार हो- प्रवासी र रिटर्नी नेपालीहरू ।

लाखौं नेपाली विदेशमा रोजगारी, अध्ययन वा व्यवसायमा सक्रिय छन्, जसले देशको विकासमा बहुआयामिक योगदान दिन सक्छन् । त्यसैले प्रवासी र रिटर्नीहरूको योगदानबिना देश विकास असम्भवजस्तै देखिन्छ ।

पूँजीको भूमिका

रिटर्नीहरू र प्रवासी नेपालीहरूले विदेशमा कडा परिश्रमद्वारा कमाएको रकम नेपालको अर्थतन्त्रमा रेमिट्यान्सका रूपमा प्रवाहित हुन्छ । यो रेमिट्यान्सले देशको आयात, उपभोग र भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

बैंक, वित्तीय संस्था, हाउजिङ, तथा निर्माण क्षेत्रमा प्रवासी पूँजीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छ । यदि यस पूँजीलाई सही ढंगले उत्पादक क्षेत्रमा लगानी गर्न सकियो भने औद्योगिकीकरण र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिन सकिन्छ ।

नेपालको कुल रेमिट्यान्स आम्दानी सन् २०२३ मा १० अर्ब अमेरिकी डलर नाघेको थियो, जुन कुल गार्हस्थ्य उत्पादनको लगभग २३ प्रतिशत थियो । यो रकम नेपालका बैंकर प्रणाली र घरेलु बजार चलायमान राख्न, आयातको वित्तीयन गर्न र हजारौं परिवारको जीविकोपार्जनमा टेवा पुर्‍याइरहेको छ ।

कतार, मलेसिया र खाडी मुलुकहरूमा कार्यरत श्रमिकहरूले पठाउने रेमिट्यान्सले ग्रामीण क्षेत्रमा घर निर्माण, शिक्षा र स्वास्थ्यमा लगानी बढाएको देखिन्छ । तर यदि यही पूँजीलाई कृषि, पर्यटन वा साना उद्योगहरूमा लगानी गर्न प्रेरित गरियो भने दीर्घकालीन आर्थिक सशक्तीकरण सम्भव छ ।

प्रविधि र नवप्रवर्तन

रिटर्नीहरू र प्रवासीहरूले विदेशी देशहरूमा आधुनिक प्रविधि, व्यवस्थापन प्रणाली, तथा कार्यपद्धतिहरूको अनुभव बटुलेका हुन्छन् । ती प्रविधिहरूलाई नेपालमा ल्याएर कृषि, स्वास्थ्य, शिक्षा, यातायात र ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार ल्याउन सकिन्छ । प्रविधिमा आधारित व्यवसाय, स्मार्ट कृषि, तथा ई-गभर्नेन्स प्रणालीले विकासको गति तीव्र बनाउन सक्छ ।

विदेशमा कार्यरत वा अध्ययनरत नेपालीहरूले र स्वदेश फर्किसकेका रिटर्नीहरूले आर्जन गरेको प्रविधिको ज्ञान नेपालको विकासको लागि अमूल्य स्रोत हो । कृषि, निर्माण, सूचना प्रविधि, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउने मुख्य माध्यम यिनै रिटर्नी र प्रवासीहरू हुन सक्छन् ।

जापान, इजरायल, कोरिया, र अमेरिकाजस्ता देशमा कृषि र उत्पादन क्षेत्रमा काम गरेर वा अध्ययन, तालिम लिएका नेपालीहरू नेपाल फर्किएर ड्रिप इरिगेसन, स्मार्ट ग्रीनहाउस, र हाइड्रोपोनिक्स प्रविधि भित्र्याउने र स्वदेशमै ठूला ठूला उद्यम व्यवसाय गर्ने क्षमता राख्छन् ।

आईटी क्षेत्रमा युरोप र अमेरिकामा कार्यरत प्रवासीहरूले अफशोर सफ्टवेयर विकास कम्पनी सञ्चालन गरेर देशभित्र रोजगारी सिर्जना गरेका उदाहरणहरू छन् ।

रिटर्नीहरूको ज्ञान र सीप

धेरै प्रवासी नेपालीहरू विदेशमा रोजगारी उच्च शिक्षा, व्यवसाय सञ्चालन, प्राविधिक तालिम र व्यवस्थापनमा दक्ष भएर फर्किएका छन् । उनीहरू नेपाल फर्किएर आफ्ना सीप, ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई प्रयोग गरेर उद्यमशीलता, नेतृत्व, नीति निर्माण र नवप्रवर्तनमा योगदान दिन चाहन्छन् । देश फर्किएका हजारौं नेपालीसँग पेशागत दक्षता, व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय कार्यअनुभव छ । यदि राज्यले उनीहरूको सीपलाई समायोजन गर्ने नीति अपनायो भने, रिटर्नीहरू देशको नीति निर्माण, शैक्षिक सुधार, औद्योगिकीकरण, र सार्वजनिक सेवा सुधारमा अग्रणी भूमिका खेल्न सक्छन् ।

यसरी रिटर्नीहरू देशको ‘ह्यूमन क्यापिटल’ बन्न सक्छन् ।

सम्भावना र चुनौती

प्रवासी र रिटर्नीहरूमा अपार सम्भावना छ, नेपालमा उनीहरूको सीप र पूँजी प्रयोग गर्ने नीतिगत ढाँचा, प्रोत्साहन र संरचनाको अभाव छ । लगानीमैत्री वातावरण, प्रविधि स्थानान्तरणका लागि सहज नीति, तथा रिटर्नीलाई समाहित गर्ने रणनीति नभएसम्म उनीहरूको योगदान सीमित हुन्छ ।

लगानीमैत्री वातावरणको अभाव, सरकारी प्रक्रियाको जटिलता र ढिलाइ, सीपअनुसारको रोजगारीको अवसर अभाव

र रिटर्नीहरूको अनुभवको मूल्याङ्कन नगर्ने प्रवृत्ति जस्ता चुनौती हाम्रो सामु छन् । यदि सरकारले ‘वान स्टप इन्भेस्टमेन्ट सेन्टर’, ‘ब्रेन गेन प्रोग्राम’ जस्ता पहललाई बलियो बनायो भने ती चुनौतीहरू सम्बोधन गर्न सकिन्छ ।

सुझाव

यो विषयलाई सम्बोधन गर्न सरकार व्यावहारिक, दूरदर्शी र कार्यान्वयनमुखी हुन आवश्यक छ । यसो गरे रिटर्नी र प्रवासी नेपालीहरूको पूँजी, प्रविधि र अनुभवलाई समुचित रूपमा उपयोग गर्न सहयोग पुग्नेछ । यस्तै प्रवासी पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सहज बनाउने नीति निर्माण गर्नु, प्रवासी नेपालीहरूका लागि विदेशी मुद्रा खाताबाट प्रत्यक्ष लगानी गर्न मिल्ने विशेष प्रोत्साहन योजना ल्याउने, कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रहरूमा ‘प्रवासी लगानी विशेष जोन’ घोषणा गर्ने, ‘ब्रेन गेन’ कार्यक्रमलाई सशक्त बनाउने, देश फर्किने रिटर्नीहरूलाई उपयुक्त रोजगारी वा उद्यमशीलता गर्न सहुलियत दिने कार्यक्रम ल्याउने जस्ता काममा केन्द्रित हुन आवश्यक छ ।

यसैगरी, विदेशमा शिक्षा वा सीप आर्जन गरेका युवाहरूलाई स्थानीय सरकारहरूसँग आबद्ध गराउने संयन्त्र बनाउने, प्राविधिक स्थानान्तरणलाई प्रोत्साहन गर्ने तथा प्रवासीहरूबाट ल्याइने नयाँ प्रविधि, मेसिन वा व्यवसाय मोडेलमा भन्सार शुल्क छुट दिने नीति बनाउने काम पनि गर्न उत्तिकै महत्त्वपूर्ण छ ।

अनुसन्धान र प्रविधिमा आधारित स्टार्टअपहरूलाई कर छुट र अनुदानको व्यवस्था गर्ने र ‘वान स्टप सेन्टर फर रिटर्निज्’ जस्ता एकाइ स्थापना गरी रिटर्नीहरूका लागि सम्पूर्ण सेवा (रोजगारी, लगानी अनुमति, सीप मान्यता, परामर्श आदि) एकै ठाउँमा उपलब्ध गराउने काम गर्न सरकारले ढिलो गर्नु हुँदैन ।

वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूका लागि सीप नाप्ने र पुनः तालिम दिने प्रणाली स्थापना गर्ने र स्थानीय सरकारको भूमिकालाई बलियो बनाउँदै गाउँपालिका/नगरपालिकालाई रिटर्नीहरूको डेटा संकलन, प्रोत्साहन कार्यक्रम सञ्चालन, र स्थानीय स्तरको सीप व्यवस्थापन केन्द्र खोल्न बजेट तथा अधिकार दिने अर्को गर्नैपर्ने काम हुन् ।

यस्तै प्रवासी नेपालीहरूसँग निरन्तर संवाद गर्ने ढाँचा विकास गर्ने र प्रवासीहरूलाई समेटेर ‘ग्लोबल नेपाली नेटवर्क’ जस्तो अनलाइन प्लेटफर्म बनाउने काम अघि बढाउनुपर्छ ।

साथै, दूतावासहरूलाई केवल कूटनीतिक होइन, आर्थिक सहकार्य केन्द्रको रूपमा पनि सक्रिय बनाउन सरकारले पहल लिनुपर्छ ।

नेपालको विकास यात्रा आज नाजुक मोडमा छ । यो मोड पार गर्न प्रवासीहरूको पूँजी, प्रविधि र रिटर्नीहरूको ज्ञान र सीपको योगदान अपरिहार्य छ । राष्ट्रले यदि यिनको सही मूल्याङ्कन गर्दै अनुकूल वातावरण तयार गर्न सक्यो भने देश विकासको नयाँ युगमा प्रवेश गर्न सक्छ ।

- लेखक बानिया रिटर्नी फेडेरेशन नेपालका उपाध्यक्ष हुनुहुन्छ ।


Image

जितेन्द्र बानियाँ

बानियाँ रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष हुन्