काठमाडौं । नयाँ शैक्षिक शत्र सुरु हुँदै गर्दा विद्यालयहरु सुनसान छन् । स्कुलमा हुनुपर्ने शिक्षकहरु सडकमा छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु आफ्ना माग पूरा गराउन १९ दिनदेखि सडकमा छन् । नाराबाजी, नाचगान र टिकटक बनाएरै भए पनि उनीहरु आन्दोलनतर्फ ध्यान तान्न खोजिरहेका देखिन्छन् ।
अघिल्लो शिक्षक आन्दोलनमा चलेको एउटा नारा थियो “मन्त्री कस्ले बनायो, हामी जस्ता गुरुले, मन्त्री कस्ले खुस्काउँछ हामी जस्ता गुरुले ।” यही नाराबाट सुरु गरौं ।
यो नारामा गरिएको दाबी मान्ने हो भने, तपाईंहरुले बनाएकै मन्त्री हुन्, तपाईंहरुले नै बनाएका प्रधानमन्त्री हुन् ।
यहाँ यो प्रसंग किन जोडेको भने, आगामी ११ गतेबाट कक्षा १२ को परीक्षा छ । तर, शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले १२ कक्षाको परीक्षा प्रभावित हुने जोखिम बढ्दै गएको छ ।
शिक्षकहरुका माग के हुन्, कस्ता छन् - यो कुरा धेरै आइसकेको छ । माग राख्ने शिक्षक, पटक–पटक सम्झौता गर्ने सरकार । शिक्षकहरुकै भाषामा भन्ने हो भने गुरुहरुले नै बनाएका मन्त्री र प्रधानमन्त्री सबलाई थाहा छ, शिक्षकहरुका जायज माग के हुन् र पूरा गर्न मुस्किल माग के हुन् ।
अब प्रश्न उठ्छ, तपाईंहरुले नै बनाएका मन्त्रीको सरकार छ अनि तपाईंहरु सडकमा किन ?
परीक्षा चाँहि विद्यार्थीको रोक्ने, नयाँ शैक्षिक शत्र सुरु हुँदा भर्ना गर्नुपर्ने विद्यार्थीको बाटो बन्द गर्ने ? सरमीसहरु, यो कस्तो आन्दोलन । अनि यो कस्तो न्यायको लडाइँ ?
तपाईंका सतप्रतिशत माग पूरा गरेर, अझ थपेर दिए पनि स्कुल पढ्ने विद्यार्थीलाई कुनै आपत्ति छैन, उनीहरुलाई त नयाँ किताब बोकेर स्कुल जान हतार छ । तर, शिक्षक र सरकारको यो शक्तिको लडाइँले बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकार र भविष्यमाथि खेलवाड किन ?
संस्कृतमा गुरुहरुलाई नै समर्पण गरेर लेखिएको एउटा श्लोक छ– 'गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः'
अर्थात् गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, गुरु नै भगवान् महेश्वर हुन् । गुरु परम ब्रह्म हुन्, जसलाई म नमन गर्छु ।
अब भन्नुस् परीक्षा नै नलिले, भर्ना अभियान नै रोकेर विद्यार्थीको भविष्य दाउमा राखेर आन्दोलन गर्ने गुरुहरुलाई विद्यार्थीले के भन्लान् ?
सरकार कति गैरजिम्मेवार छ त्यो पनि चर्चा गरौंला । तर, शिक्षकहरुलाई नै केही प्रश्न– के तपाईंका माग पूरा गर्न नयाँ भर्ना हुन आउने बालबालिकाले रोकेका छन् ?
या १२ कक्षाको परीक्षा दिने तयारी गरेर बसेका विद्यार्थीले रोकेका हुन्? त्यसो भए, विद्यार्थीमाथि यो तहको अन्याय गरेर शिक्षकको हठ र सरकारको दम्भ किन ?
अब सरकारको गैरजिम्मेवारपन बारे चर्चा गरौं ।
शिक्षकहरुले आन्दोलन गरेको १९ दिन भइसक्यो । तर, सरकारका मन्त्री र प्रधानमन्त्री यी समस्या समाधान गर्न, शिक्षकसँग छलफल गर्न होइन । राजनीतिक दाउपेचमा व्यस्त छन् । अझै पनि हप्काएर, दब्काएर शिक्षकहरुलाई फिर्ता पठाउने ध्याउन्नमा छ सरकार । यसअघि शिक्षकहरुसँगै गरेका सम्झौता कार्यान्वयनतर्फ फिटिक्कै ध्यान नदिएको परिणाम हो अहिले शिक्षकहरुले सरकारलाई विश्वास गर्न नखोज्नुको कारण ।
सरकार सबै नागरिकको असल अभिभावक हुनुपर्ने हो तर त्यस्तो देखिँदैन । जायज माग पूरा गर्न सरकारले तत्परता देखाउन सक्नुपर्छ । आन्दोलरत शिक्षकहरुलाई विश्वासमा लिन सक्नुपर्छ ।
शिक्षक आन्दोलनका कतिपय माग तत्काल पूरा गर्नै पर्नेछन् । कतिपय समय लाग्ने होलान् । तर, हाम्रो प्रश्न यति मात्र हो कि - सरकार र शिक्षकको लडाइँमा विद्यार्थी चाँहि किन पेलिनुपर्ने ?
परीक्षा नरोक्नुस् सरमीसहरु । भर्ना अभियान नरोक्नुस । बरु यी काम गर्दै रचनात्मक आन्दोलनलाई जारी राख्नोस् । ता कि तपाईंहरुको आन्दोलनमा विद्यार्थीले पनि नैतिक समर्थन जनाउने अवस्था बनोस् ।
अन्तिममा फेरि पनि शिक्षकहरुकै पुरानो नारा सापटी लिएर भन्छु । पढाउन छोडेर अब झोला र झण्डा हेरेर संसद मन्त्री बनाउन नहिँड्नु होला । तपाईंले झण्डा र झोला हेरेर बनाएका सांसद, मन्त्री, प्रधानमन्त्री नै तपाईंहरुका माग सम्बोधन गर्न तत्परता देखाइरहेका छैनन् । जसका कारण विद्यार्थीले दुःख पाएका छन्, अभिभावक अन्योलमा छन्, तपाईंहरुले पनि सडकमा दुःख पाइरहनु भएको छ ।