
चितवन । चितवनमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी छ । तर, यही चितवनको पहाडी भेगमा भने मौसम असाध्यै मनोरम छ।
त्यसैले मैदानी भूभागको अत्यधिक गर्मी छल्नकै लागि त्यहाँबाट धेरै मानिसहरु पहाड उक्लिन थालेका छन्। अनि गर्मी छल्ने गज्जबको गन्तव्य बनेको छ मायाटार । चितवनको इच्छाकामना गाउँपालिका २ स्थित मायाटारमा पछिल्लो केही वर्षयता गर्मी मौसममा सबैको रोजाइमा पर्नथालेको छ।
तल भरतपुर नारायणगढतिर सहिनसक्नु गर्मी हुँदा त्यसलाई छल्न मानिसहरु यो पहाडी ठाउँमा पुग्ने गरेका छन्। भरतपुरको बाइपास रोडस्थित विशाल चोकबाट मायाटार पुग्न मात्र ४० किलोमिटर छ। शक्तिखोर हुँदै पुगिने यो ठाउँमा अहिले भरतपुर, रत्ननगरलगायत क्षेत्रका बासिन्दाहरु गर्मी छल्न पुग्ने गरेका छन् ।
कोही परिवार र साथीभाइसहित पुग्ने गरेका छन् भने कोही समूहमार्फत एक दिने कार्यक्रम बनाएर उक्लिन्छन् । साँझमा नाचगान गर्दै रमाइलो गर्दै चिसो मौसमको आनन्द लिन्छन् । चिसो मौसममा रमाउन पाहुनाहरु आउन थालेपछि अहिले मायाटारमा 'होम स्टे' खुल्ने क्रम बढेको छ ।
पाँच वर्षअघि विदेशबाट फर्किएर टीका गुरुङले 'मायाटार होमस्टे'को सुरुवात गरेपछि अहिले उहाँकै नजिक धेरै 'होम स्टे' र रिसोर्टहरु खुलेका छन् । सार्वजनिक बिदाको दिनमा यो ठाउँमा अहिले बास बस्ने ठाउँसमेत अभाव हुन थालेको छ । रमणीय वातावरण, चिसो मौसम र रैथाने खानेकुरा खान पाउने भएपछि मायाटार अहिले आन्तरिक पर्यटकले भरिभराउ छ।
मायाटारमा बिजुली पुगेको २ वर्षमात्रै भएको छ। पिच बनेपछि सडक मार्ग सहज बनेको छ। मायाटारमा आन्तरिक पर्यटक बढ्न थालेपछि आसपासका उपरदाङगढी, घुर्केस, तेर्सेलगायत ठाउँमा समेत दुई दर्जन होमस्टे खुलेका छन्। होमस्टेले रोजगार सिर्जना हुँदा स्थानीय चेपाङ समुदायसमेत लाभान्वित भएका छन्। बिदाको दिनमा दैनिक ३ सयजति आन्तरिक पर्यटक गर्मी छल्नकै लागि मायाटार उक्लिन थालेका छन् ।