
काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धका कारण प्रहरी हिरासतमा पुगेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडाका श्रीकृष्ण विक हिरासत बसाइँको तेस्रो दिनमा झुन्डिएर मृत अवस्थामा भेटिए । परिवारले उनको मृत्युलाई आत्महत्यामा मात्र सीमित नगर्न माग गरिरहेको छ । परिवारको भनाइ छ- गैरदलित युवतीसँगको प्रेमकै कारण बालविवाह र जबरजस्ती करणीको आरोप लगाइएपछि श्रीकृष्णको ज्यान गएको हो ।
यता युवतीको परिवारले पनि सुरुमा छोरी हराएको भन्दै सातदोबाटो प्रहरी वृत्तमा दिएको निवेदन पछि बालविवाह र जबरजस्ती करणीको जाहेरीमा परिवर्तन भएको थियो । दलित अधिकारकर्मीहरूले यसलाई अन्तरजातीय सम्बन्धकै परिणाम भन्दै आएका छन् ।
अहिले भने यो घटनामा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा प्रहरीलाई नै गैरजिम्मेवार भएको ठहर्याइएको छ ।
न्यायिक हिरासतमा रहँदा बितेका श्रीकृष्ण विकको घटनाबारे जाँचबुझ गर्न बनेको छानबिन समितिले प्रहरीबाटै गम्भीर लापरबाही भएको औँल्याएको छ । समितिको प्रतिवेदनमा हिरासतमा शारीरिक वा मानसिक यातना दिएको प्रमाण नभेटिए पनि ‘हिरासत व्यवस्थापन मार्गदर्शन २०८१’ को पूर्णरूपमा उल्लंघन भएको निष्कर्ष निकालिएको छ ।
गत वैशाख ७ गते सिन्धुलीको खुर्कोटमा हिरासत कक्षको शौचालयमा झुन्डिएर मृत अवस्थामा विक भेटिएका थिए । मृत्यु शंकास्पद भएको भन्दै परिवार, दलित अधिकारकर्मीहरू र सत्ताधारी सांसदहरू नै सडकमा उत्रिएका थिए । संघीय सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, आशिष गजुरेललगायत जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मूलढोकामै धर्ना बसेका थिए । चौतर्फी दबाबपछि नेपाल प्रहरीले डीआईजी दिनेश आचार्यको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । यही समितिले सार्वजनिक गरेको प्रतिवेदनले प्रहरीलाई गैरजिम्मेवार भएको उल्लेख गरेको हो ।
प्रतिवेदनमा पोस्टमोर्टम रिपोर्ट र परिस्थितिजन्य प्रमाणका आधारमा मृत्युको कारण आत्महत्या नै देखिएको उल्लेख छ । यद्यपि थुनुवाको निगरानीका लागि डेडिकेटेड सुरक्षाकर्मी नखटाइएको, हिरासत व्यवस्थापन अधिकृत बिदामा रहँदा वैकल्पिक व्यवस्था नगरिएको र लामो समयसम्म थुनुवाको नियमित निगरानीसमेत नगरिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै सीसीटीभी फुटेज उपलब्ध नभएको विषयलाई पनि प्रतिवेदनले गम्भीर कमजोरीका रूपमा औँल्याएको छ । यता खुर्कोट प्रहरीले भने प्राविधिक त्रुटिका कारण सीसीटीभी फुटेज सुरक्षित हुन नसकेको भनेको छ ।
त्यसो त सीसीटीभी फुटेज नभेटिएकै कारण मृतकका आफन्तले घटनाप्रति थप शंका गरेको प्रतिवेदनमै उल्लेख छ । छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक वसन्तबहादुर भुजेललाई विभागीय कारबाहीका लागि पनि सिफारिस गरेको छ ।
ड्युटीमा लापरबाही गरेको भन्दै सेन्ट्री अर्जुन सिंहमाथि पनि कारबाही सिफारिस गरिएको छ । ड्युटी अधिकृत बलबहादुर माझी, सुवेदार मेजर प्रहरी सहायक निरीक्षक दौलतविक्रम जोशी, प्रहरी सहायक निरीक्षक रामकाजी कार्की, गार्ड कमान्डर राजकुमार उप्रेती र सीसीटीभी मनिटरिङमा रहेका प्रहरी हवल्दार अरुणकुमार श्रेष्ठलाई चेतावनी दिँदै तत्काल जिम्मेवारीबाट हटाउन भनिएको छ ।
प्रतिवेदनले सातदोबाटो प्रहरी वृत्तको भूमिकामा समेत प्रश्न उठाएको छ । अन्तरजातीय प्रेम सम्बन्ध र नाबालिग जोडिएको संवेदनशील विषयलाई सोही ठाउँमा तत्काल अनुसन्धान गर्नुपर्नेमा गम्भीररूपमा नलिइ अन्यत्र पठाइएकामा ध्यानाकर्षण गराइएको छ । त्यस्तै, सिन्धुलीका जिल्ला प्रहरी प्रमुखले वर्षमा दुई पटक मात्र निरीक्षण गरेको उल्लेख गर्दै सुपरिवेक्षण प्रणाली सुधार गर्न समितिले सुझाएको छ ।
घटनापछि दलित अधिकारकर्मी, सरोकारवाला र मृतकका परिवारले यो घटनामा जातीय विभेदको गहिरो पाटो रहेको बताएका छन् । उनीहरूले राज्यले नै जिम्मेवारी लिनुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र घटनालाई केवल आत्महत्या भनेर सीमित गर्न नहुने माग गरिरहेका छन् ।
छानबिन समितिले पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रहरीभित्र रहेको ‘दलित सेल’लाई महिला तथा बालबालिका सेवा केन्द्रसरह साधनस्रोत सम्पन्न र विश्वसनीय बनाउन सुझाव दिएको छ । साथै हिरासत कक्षका जोखिमयुक्त संरचना सुधार गर्न, चौबिसै घण्टा सीसीटीभी निगरानी गर्न र सेन्ट्री ड्युटीको समय एकपटकमा बढीमा तीन घण्टा मात्रै तोक्न सुझाव दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले सपथ लिएकै दिन सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि भएका विभेदप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचना गरिने भनिएको थियो ।
सरकारको यो प्रतिबद्धतालाई धेरैले सामाजिक न्यायको कदम भन्दै सराहना गरेका थिए । तर, सरकारले यसो भनेको महिना दिन पनि नपुग्दै प्रहरीको आँखैअगाडि भएको श्रीकृष्ण विकको मृत्यु प्रकरणले दलितका व्यथा माफीनामाले मात्र समाधान नहुने छर्लङ पारेको छ ।
सम्बन्धित समाचार :