
कञ्चनपुर । धान रोपाइँको मुख्य समय नजिकिँदै गर्दा किसानहरू खेतमा व्यस्त देखिन्छन्।
बेर्ना तयार पार्ने, खेत जोत्ने र रोपाइँको तयारी अहिले तीव्र रूपमा भइरहेको छ। यसबीचमा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन गत वर्षको तुलनामा बढी सुक्खा रहने प्रक्षेपण गरेको छ। वर्षा वितरण असमान हुने र केही क्षेत्रमा पानी कम पर्नसक्ने देखिएको छ।
यस्तो अवस्थामा कृषि गतिविधि र रोपाइँको तयारीमा समयमै समायोजन आवश्यक भए पनि किसानसम्म आवश्यक सूचना पर्याप्तरूपमा पुगेको देखिँदैन। धान उत्पादन गर्ने किसानको खेतमा बेर्ना तयार भइरहेको छ । केही किसानले त अहिले रोप्न सुरु पनि गरिसक्नुभएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष गत वर्षभन्दा बढी सुक्खा रहने प्रक्षेपण गरेको छ । तर, यो विषयमा किसानहरू भने त्यति धेरै जानकार भएको पाइँदैन । कृषि सम्बद्ध निकायले पनि किसानहरूलाई सुक्खा याममा हुने धानको बिउ रोप्नका लागि जानकारी नै नगराएको पाइएको छ ।
कृषि विज्ञहरू भने बदलिँदो मौसम अवस्थालाई ध्यानमा राख्दै कम पानीमा उत्पादन दिन सक्ने धानका जातको प्रयोग, रोपाइँको उपयुक्त समय व्यवस्थापन र सिँचाइ योजनामा विशेष ध्यान दिन सुझाव दिनुहुन्छ । यदि सुक्खा अवस्था रहने सम्भावना छ भने किसानलाई समयमै सचेत गराउनु, उपयुक्त बिउ छनोट गर्नु र सिँचाइ व्यवस्थापन तयारी गर्नु अत्यन्त आवश्यक हुन्छ । तर, स्थानीय तह र कृषिसम्बन्धी निकायबाट किसानलक्षित सूचना अभियान कमजोर देखिन्छ ।
यससँगै धेरै किसानले अर्को चुनौती पनि झेलिरहनु भएको छ, त्यो हो, सिँचाइको अभाव । धेरैजसो खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ नहर नपुग्दा किसानहरू महँगो मूल्यमा डिजेल किनेर इन्जिनमार्फत खेतमा पानी तान्न बाध्य हुनुहुन्छ । यसले उत्पादन लागत थप बढाएको छ ।
सिँचाइको अभाव र बढ्दो लागतले किसानको चिन्ता झन् बढाएको छ । एकातिर सुक्खाको प्रक्षेपण, अर्कोतिर पर्याप्त सिँचाइ सुविधा नहुँदा यस वर्षको धान उत्पादन प्रभावित हुन सक्ने चिन्ता किसानमा देखिन्छ । जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा प्रत्यक्ष देखिन थालेको अवस्थामा मौसम पूर्वानुमान र कृषि सूचना किसानसम्म समयमै पुग्न सके मात्रै सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ ।
तर, अहिलेको यो अवस्थाले सूचना प्रवाह र व्यवहारबीच अझै दूरी रहेको संकेत गर्छ। सही सूचना समयमै किसानसम्म पुग्न सके कृषि उत्पादन सुरक्षित मात्र होइन, दिगो पनि बनाउन सकिन्छ ।