
काठमाडौं । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण गत जेठको दोस्रो साताबाट देखिन थालेको थियो ।
त्यसयता उपत्यकाका ५० स्थानका १ लाख ७० हजार पन्छी मरेको पशु सेवा विभागको तथ्यांक छ । उपत्यकाबाहिरका जिल्लामा समेत संक्रमण देखिएको छ । संक्रमण तीव्र रुपमा फैलन थालेपछि विभागले संक्रमण देखिएका क्षेत्रका हाँस कुखुरा नष्ट गर्ने, निष्संक्रमण गर्ने अभियान सञ्चालन गरिरहेको दाबी गरेको छ ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठको टोलीले मंगलबार काभ्रेको पनौती नगरपालिका ७ सुकुम्वासी टोलस्थित मानेश्वरी एग्रो फर्मका २ सय ७० हाँस-कुखुरा नष्ट गरेको छ । फर्मका एक हजार हाँस-कुखुरामध्ये ७ सय ३० वटा आफैं मरेपछि सञ्चालक राधेश्याम महाजु विभागको सम्पर्कमा पुग्नुभयो ।
परीक्षणपछि थाहा भयो बर्डफ्लु संक्रमण रहेछ । विभागको टोलीले जोखिम विश्लेषण गरेपछि बाँकी संक्रमित पन्छी नष्ट गरेको हो । ५ रोपनी जग्गा लिजमा लिएर व्यावसायिक कुखुरा पालन गरेका राधेश्यामलाई ४ लाखको नोक्सानीसमेत भएको छ ।
काभ्रेकै बनेपा नगरपालिका १३ स्थित बद्री खत्रीको लेयर्स फर्ममा पनि गत असार ३ गते बर्डफ्लु देखिएको थियो । १५ सय लेयर्स पालेका खत्रीको फर्ममा संक्रमण देखिएपछि विभागको टोलीले नष्ट गरेको थियो । यता काठमाडौं उपत्यकामा पनि मंगलबारै २ बटा टोली परिचालन भए ।
चाँगुनारायण र कागेश्वरी मनोहरा पुगेको टोलीले २-२ बटा फर्मको करिब ३ हजार हाँस-कुखुरा नष्ट गरे । ललितपुर महानगरपालिका २६ स्थित महालक्ष्मीमा पनि एक हजार संक्रमित पन्छी नष्ट गर्ने विभागको तयारी छ । काठमाडौं उपत्यकामा गत जेठ दोस्रो साताबाट बर्डफ्लु देखिन सुरु भएको भए पनि असार पहिलो साताबाट संक्रमण बढेको हो ।
यो अवधिमा काठमाडौं उपत्यकाका करिब ५० स्थानका १ लाख ७० हजार हाँस-कुखुरा मारिसकेको विभागको भनाइ छ । पछिल्लो समय केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा दैनिक ८ जनासम्म किसान बर्डफ्लु परीक्षणका लागि आउने गरेका छन् ।
विभागले काठमाडौं उपत्यकामा कागबाट संक्रमण फैलिएको र सबैभन्दा बढी असर खुला ठाउँमा हिँड्डुल गर्ने र चर्ने पन्छीमा परेको निष्कर्ष निकालेको छ । फार्ममित्रका ब्रोइलर कुखुरामा भने कम संक्रमण देखिएको विभागले जनाएको छ । विभाग भन्छ- बर्डफ्लु संक्रमण कम हुन थप दुई महिना लाग्छ ।
सम्बन्धित समाचार :