जाउलाखेल चिडियाखाना सिल, बर्डफ्लुबाट दुर्लभ जीवजन्तुको मृत्यु

असार ९, २०८३ |शिखा श्रेष्ठ
जाउलाखेल चिडियाखाना सिल, बर्डफ्लुबाट दुर्लभ जीवजन्तुको मृत्यु

काठमाडौं । बिदाका दिन दैनिक औसत ५ हजारले अवलोकन गर्ने जाउलाखेलस्थित सदर चिडियाखाना ४ दिनदेखि बन्द छ । 

कारण हो-चिडियाखानाभित्र फैलिएको बर्डफ्लु संक्रमण । जेठ २९ गतेदेखि नै धमाधम चराहरु मर्न थालेपछि चिडियाखाना प्रशासनले गम्भीर रुपमा लिएन । असार ५ गतेमात्र आएर चिडियाखाना बन्द गराइयो । हालसम्म साना-ठूला गरी ३७ पशुपन्छी मरिसकेकोमा २४ वटामा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । 

बर्डफ्लु संक्रमणजस्तो सम्वेदनशील विषयमा समयमै जानकारी नदिएको भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाएर छानबिन थालेको छ । चिडियाखानाभित्र रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि अहिले यहाँको अवस्था जोखिमपूर्ण बनेको छ। 

जसका कारण चिडियाखाना पूर्ण रुपले सिल गरिएको छ। पंक्षीहरुमा लाग्ने अति संक्रामक बर्डफ्लु एकपटक पुष्टि भएपछि सजिलै फैलिन्छ। यसले चिडियाखानामा रहेका अन्य दुर्लव पंक्षी तथा जनावरहरुमा पनि गम्भीर असर गरिरेको छ। अझ डरलाग्दो कुरा त यो भाइरस मानिसमा पनि सर्न सक्ने भय उत्तिकै छ।

पशु सेवा विभागका अनुसार चिडियाखानामा जेठ २९ गतेदेखि नै चराहरु धमाधम मर्न थालेका थिए। चराचुरुंगीहरू मर्ने क्रम नरोकिएपछि विभागअन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पहिलोपटक असार १ गते चिडियाखानाबाट तीनवटा चरा पोष्टमार्टमका लागि लगिएको थियो। 

ती सबैको नमुना परीक्षणबाट हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा अर्थात् एच फाइभ एन वान बर्डफ्लु पुष्टि भएको थियो । यो अत्यन्त संक्रामक र घातक बर्डफ्लु हो। संक्रमणबाट लोपोन्मुख लोटोकोसेरो, बकुल्ला, दुर्लभ गिद्ध, राजहाँस, सारसलगायत दर्जनौं पन्छी मरिसकेका छन् । 

चिडियाखानामा साना स्तनधारी जनावरहरु पनि मरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाका निमित्त प्रमुख बाबुलाल तिरुवाका अनुसार चिडियाखानाभित्रका जंगली बिरालो, नीरबिरालो, चरीबाघ, हरिण, बाँदरलगायतका जनावरमा पनि यो संक्रमण पुष्टि भएको छ।

चिडियाखानामा चितुवाको पनि मृत्यु भएको छ । स्रोतका अनुसार चितुवाको ल्याब परीक्षणमा पनि बर्डफ्लु नै देखिएको छ। यद्यपि निमित्त प्रमुख तिरुवाले प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो । त्यसो त हालसम्म कति पंक्षी तथा जनावरहरुको मृत्यु भयो, मृत्यु हुने क्रम रोकिएको छ वा छैन भन्नेबारे आधिकारिक रुपमा कुनै सरकारी निकायले बोलेको छैन । 

उच्च स्रोतका अनुसार हालसम्म कूल ३७ पशुपन्छी तथा जीवजन्तुको मृत्यु भएको छ। जसमा २४ मा बर्डफ्लु पुष्टि भएको छ र अन्यको परीक्षण जारी छ । अधिकारीहरूका अनुसार सदर चिडियाखानामा यति ठूलो मात्रामा बर्डफ्लु संक्रमण फैलिएको यो पहिलो पटक हो । 

चिडियाखानामा पस्ने काग र अन्य जंगली पन्छीबाट संक्रमण फैलिएको अनुमान गरिएको छ । जाउलाखेलस्थित सदर चिडियाखानाभित्र रहस्यमय ढंगले चरा तथा जीवहरु मरिरहेका छन्। यो गम्भीर घटनाको अनुसन्धान गर्न कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको आदेशमा गठन भएको छानबिन समितिले अनुसन्धान गरिरहेको छ। तर, त्याहाँ कति पंक्षी तथा जनावर मरे भन्ने आधिकारिक तथ्यांक भने अहिलेसम्म सार्वजनिक भएको छैन।

चिडियाखानामा भएका शृंखलाबद्ध घटना र बर्डफ्लुजस्तो संवेदनशील विषयमा बेलैमा केन्द्रलाई रिपोर्टिङ नगरेको भन्दै राष्ट्रि प्रकृति संरक्षण कोषले चिडियाखाना प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाएर छानबिन गरिरहेको छ। कोषका प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाह संयोजकत्वको ३ सदस्यीय छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको छ। 

समितिको प्रतिवेदन आइसकेपछि मात्रै विस्तृतमा सार्वजनिक गरिने मन्त्रालयको भनाइ छ। बिदाको दिन औसतमा पाँच हजारले अवलोकन गर्ने चिडियाखानामा बर्डफ्लु फैलिएपछि प्रशासनले असार ५ गतेदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । चिडियाखानामा अहिले २० कर्मचारीले किटाणु निर्मलीकरणको काम गरिरहेका छन्।

सम्बन्धित समाचार :

बर्डफ्लु अझै दुई महिना रहने अनुमान


Image

शिखा श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनकाे सुरक्षा ब्युराेमा कार्यरत छिन् ।