
काठमाडौं । प्रहरी हिरासतमै मृत भेटिएका सिन्धुलीका श्रीकृष्ण विकको शव एक महिनादेखि त्रिवि शिक्षण अस्पतालमै छ ।
परिवारले बुझ्न मानेको छैन । मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने, क्षतिपूर्ति दिइनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने लगायत माग राखेर मृतककी आमा बिन्दामाया एक महिनायता माइतीघरको सडकमा धर्नामै बसिरहनुभएको छ ।
एक महिनायता सिन्धुलीका श्रीकृष्ण विकको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ । अनि श्रीकृष्णकी आमा माइतीघरको सडकमा धर्ना दिइरहनुभएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ कि बिन्दामाया विश्वकर्मा आफ्ना मृत सन्तानको सन्तापमा कहिले भक्कानिनुहुन्छ, कहिले सम्हालिनुहुन्छ । तर, छोराको मृत्युको निष्पक्ष छानबिन अनि न्यायको आश मारिसक्नुभएको छैन ।
२३ वर्षीय श्रीकृष्ण विश्वकर्मा गत वैशाख ७ गते प्रहरी हिरासतभित्रै झुन्डिएको अवस्थामा फेला परेका थिए । पाँच सन्तानमध्ये श्रीकृष्ण बिन्दामायाका माइला छोरा थिए । न्यायको सुनिश्चितता नभएसम्म शव नबुझ्ने बिन्दामायाको परिवारको अठोट छ ।
आमा बिन्दामायाका अनुसार ललितपुरमा बस्दै आएका श्रीकृष्ण सोही क्षेत्रमा बस्ने एक युवतीसँग प्रेम सम्बन्धमा थिए । तीन वर्षको सम्बन्धपछि उनीहरूले राजीखुसी भागी विवाह गरेर सिन्धुली घर पुगेको उहाँको भनाइ छ । तर, युवतीको परिवारलाई यो बिहे सैह्य भएन ।
सुरुमा चैत ३० गते युवतीका दाजुले बहिनी हराएको भन्दै ललितपुरस्थित सातदोबाटो प्रहरी वृत्तमा निवेदन दिएका थिए । वैशाख ३ गते प्रहरीले मिलापत्रका लागि दुवै परिवारलाई बोलायो । तर, परिवारले बलात्कारकाे उजुरी दिए ।
वैशाख ४ गते बिहानै श्रीकृष्णलाई सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालय पुर्याइएको थियो । मृतकका परिवार भने आफूहरूलाई यो जानकारी नै नदिइएको बताउँछन् । तर, सातदोबाटो प्रहरी प्रमुख डीएसपी पूर्णिमा चन्द भने ललितपुर तथा सिन्धुली प्रहरीसँगको समन्वयमा श्रीकृष्णलाई खुर्कोट पठाइएको कुरा परिवारलाई जानकारी भएको बताउनुहुन्छ ।
त्यसो त श्रीकृष्णलाई सातदोबाटोमै राखेर पनि अनुसन्धान गर्न सकिन्थ्यो । तर, पछिल्लो घटनास्थलका आधारमा मिसिलसहित खुर्कोट पठाइएको डीएसपी चन्दको भनाइ छ । खुर्कोटमा श्रीकृष्णलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइएको थियो । तर, अनुसन्धानकै क्रममा हिरासतभित्रै उनको ज्यान गयो ।
सिन्धुली प्रहरीका प्रवक्ता सूर्यप्रकाश सुवेदी हिरासतको शौचालयमा श्रीकृष्ण झुन्डिएको अवस्थामा फेला परेको बताउनुहुन्छ । तर, पीडित पक्षले भने हिरासतभित्रको वास्तविकता पत्ता लगाउने सीसीटीभी फुटेज प्रहरीले नदेखाएकामा संशय व्यक्त गरिरहेका छन् ।
प्रहरीले भने ‘प्राविधिक कारण’ देखाउँदै फुटेज उपलब्ध नभएको बताएको छ । यता राष्ट्रिय दलित आयोगले पनि घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।
त्यसो त प्रहरीको हाताभित्रै ज्यान गुमाउने श्रीकृष्ण मात्र होइनन्, कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार हालसम्म ३७ जना कैदीबन्दी र थुनुवाले कारागारमा आत्महत्या गरेका छन् । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा मात्रै पनि पछिल्लो १० वर्षमा २७ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।