चितवन । सरकारले काठमाडौंमा सुकुम्वासी बस्ती धमाधम भत्काइरहँदा त्यसको प्रभाव अन्य जिल्लाहरूमा पर्न थालेको छ ।
४१ हजार २८२ जना सुकुम्वासी रहेको चितवनमा पनि अहिले सुकुम्वासी बस्तीमा त्रास छ । कतै आफ्नो घरमा पनि डोजर लाग्ने हो कि भन्ने चिन्तामा उनीहरू छन् । चितवनको भरतपुर-११ बाइपास रोडसँगै गणेशस्थानमा ठूलो सुकुम्वासी बस्ती छ ।
यही बस्तीमा २२ वर्षदेखि बसिरहेको छ रामबहादुर गुरुङको परिवार । रामबहादुर र उहाँकी श्रीमती फूलमायालाई अहिले घर भत्काइदिन्छन् कि भन्ने चिन्ताले सताएको छ । रातभर निदाउन नसकेका यी दम्पतीको आँखा बेघरबार हुनुपर्ला कि भन्ने पीरले रसाररहेका छन् ।
गणेशस्थानको सुकुम्वासी बस्तीमा करिब ५ सय घरधुरीको बसोबास छ । विगतमा केहीले रातो लालपुर्जा र सेतो पूर्जा पाए भने धेरैले कुनै निस्सा प्रमाण पाएका छैनन् । तर, उनीहरू ४० वर्षभन्दा बढी समयदेखि यहाँ बसोबास गरिरहेका छन् । आँपटारीमा पनि अर्को ठूलो बस्ती छ ।
यहाँ पनि केहीले लालपुर्जा पाएका छन् भने धेरैले पाउन सकेनन् । पाइसकेका परिवारसमेत अहिले त्रासमा बस्न बाध्य छन् । सरकारले सुकुम्वासी परिवारलाई जग्गा प्रदान गर्न सुकुम्वासी आयोग गठन गरेको थियो । यही आयोगले छानबिन गरेर प्रक्रिया पूरा गरेपछि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूले जग्गाधनी लालपुर्जा पाउने गरेका थिए ।
आर्थिक वर्ष २०८१/८२ मा चितवनमा ३०२ जनाले लालपुर्जा पाएका थिए भने चालु आर्थिक वर्षमा ४८७ जनाको लालपूर्जा तयार भएकोमा १० प्रतिशतले भने अझै पाउन बाँकी छ । चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ११ हजार २०७ सुकुम्वासी परिवारको बसोबास छ भने सबैभन्दा थोरै रत्ननगर नगरपालिकामा २ हजार ५६९ सुकुम्बासी छन् ।
चितवनका सातवटै स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी ४१ हजार २८२ जना जग्गाधनी पूर्जाविहीन रहेको भन्दै निवेदन दिएका छन् । उचित विकल्प बिना उठिबास लाउन नपाउने भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।