मलेसियामा शव बन्धक : श्रम स्वीकृति नभएकाले शव फर्काउन दूतावासलाई सकस

परिवार कल्याणकारी सुविधाबाट वञ्चित
वैशाख ६, २०८३ |सुमन पन्थ
मलेसियामा शव बन्धक : श्रम स्वीकृति नभएकाले शव फर्काउन दूतावासलाई सकस

काठमाडौं । मनजय सदाको परिवारको हारगुहारबारे थाहा पाएपछि हामीले मलेसियास्थित नेपाली दूतावाससँग यसबारे बुझ्ने प्रयास गर्‍यौं। 

दूतावासले अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सदा गैरकानुनी रुपमा मलेसियामा काम गरिरहेको हुँदा उहाँको शव नेपाल फर्काउन कठिनाइ भइरहेको जनाएको छ। कम्पनीमार्फत नै शव ल्याउने पहल थाल्ने भने पनि त्यसको सम्भावनाबारे दूतावास ढुक्क छैन।

मनजयको मृत्युबारे मलेसियास्थित नेपाली दूतावासले शुक्रबार मात्रै थाहा पाएको थियो । कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा दूतावासका प्रथम सचिव सुशील घिमिरेले मनजयको शव नेपाल फिर्ता ल्याउन उहाँले काम गर्ने कम्पनीलाई जिम्मेवार बनाउन पहिलो पहल गरिने जानकारी दिनुभएको छ । 

त्यो सम्भव नभए वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत शव नेपाल ल्याइने जानकारी घिमिरेले दिनुभयो । कम्पनीलाई आर्थिक क्षतिपूर्ति दिलाउन पनि पैरवी गरिने छ । दूतावासका अनुसार मनजय गैरकानुनी तवरले मलेसियामा बसेको खुलेको छ । 

नेपालबाट श्रम स्वीकृति लिएर गए पनि करार अवधि सकिएको हुँदा शव ल्याउनेबाहेक अन्य कल्याणकारी सेवाबाट मनजयको परिवार वञ्चित हुनेछ । मृत्यु भएका परिवारलाई कल्याणकारी कोषबाट १० लाख रुपैयाँ आर्थिक सहायता दिने गरिएको छ । श्रम स्वीकृति नलिँदा कल्याणकारी कोषको सुविधा नपाइने हुँदा अनिवार्य श्रम स्वीकृति लिएरमात्रै जान सरोकारवालाको सुझाव छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सचेत बनाउन नसक्दा समस्यामा परेका कतिपय श्रमिक कल्याणकारी कोषबाट विमुख हुने गरेका छन् ।

सम्बन्धित समाचार :

विदेशमा नेपालीको पीडा : मलेसियामा शव बन्धक, दुबईमा एक बेपत्ता


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।