विदेशमा नेपालीको पीडा : मलेसियामा शव बन्धक, दुबईमा एक बेपत्ता

वैशाख ६, २०८३ |आरएन विश्वास
विदेशमा नेपालीको पीडा : मलेसियामा शव बन्धक, दुबईमा एक बेपत्ता

सप्तरी । बेरोजगारीका कारण अधिकांश युवा विदेशिनु बाध्यताजस्तै बनेको छ। 

वैदेशिक रोजगारीमा पुगेकाहरूको दैनिकी पनि सहज छैन। कतिसम्म भने कतिले महँगीका कारण उपचार नै गर्न सक्दैनन् भने कति परिवारको सम्पर्कमै आउँदैनन् । जसका कारण नेपालमा भएका उनीहरूका परिवार र आफन्त पीडामा छन् । 

यो दृश्य सप्तरीको बिष्णुपुर गाउँपालिका ६ गोरगामाका ३२ वर्षीय मनजय सदाको घरपरिवारको हो। स्वदेशमा रोजगारी नपाएका कारण १२ वर्षअघि मनजय मलेसिया पुग्नु भएको थियो । तर, गत चैत २६ गते बिहान बिरामी भएर उपचारको क्रममा मलेसियाको सेलाङ्गोर राज्यको क्लाङ सहरस्थित तेंग्कु अम्पुअन राहिमह अस्पतालमा उहाँको निधन भयो। 

अहिले सदा परिवारमा बज्रपात नै छाएको छ। दलित समुदायका मनजयको परिवारलाई रोजगारदाता कम्पनीबारे जानकारी नभए पनि उहाँ सुरक्षागार्डको काम गर्दै आउनुभएको थियो । अहिले उपचारमा लागेको करिब ७ लाख रूपैयाँ तिर्न नसक्दा मनजयको शव अस्पतालमै बन्धक छ ।

यता मनजय सदाको मृत्यु भएकै दिन वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत मलेसियाबाट शव ल्याइदिन माथिल्लो निकायलाई गुहारे पनि अहिलेसम्म कुनै सुनवाइ हुन सकेको छैन। यस्तै १ वैशाख २०७९ मा सपोर्ट मेनपावर कम्पनीमार्फत दुबई पुग्नुभएका सप्तरीको शम्भुनाथ नगरपालिका ४ सिरकजरीका ४२ वर्षीय देवनारायण राम गत मंसिर ५ देखि सम्पर्कविहीन हुनुहुन्छ । 

दुबई विमानस्थलमा सरसफाइको काम गर्दैआएका देवनारायण बेपत्ता भएपछि पत्नी निलमदेवीले जिल्ला प्रशासनदेखि वैदेशिक रोजगार बोर्ड र कन्सुलर विभाग गुहारेको महिनौं बितिसक्यो । तर, अहिलेसम्म देवनारायण सम्पर्कमा आउनु भएको छैन ।

मलेसियाका अस्पतालमा बन्धक रहेका मनजय सदाको शव नेपाल ल्याई अन्त्येष्टी गर्न परिवारको जिम्मा लगाउनु र दुबईमा बेपत्ता भएका देवनारायण रामको खोजीतर्फ सरकार र परराष्ट्र मन्त्रालयको ध्यान पुग्नु जरूरी छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।