गृहमन्त्रीकाे ‘एक्सन’देखि ओली र लेखक पक्राउसम्मको ‘टाइमलाइन’

चैत्र १४, २०८२ |अञ्जना लामिछाने
गृहमन्त्रीकाे ‘एक्सन’देखि ओली र लेखक पक्राउसम्मको ‘टाइमलाइन’

काठमाडौं । आलोचना र समर्थनको स्वरका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक अहिले प्रहरी नियन्त्रणमा हुनुहुन्छ । 

जेन-जी आन्दोलनमा भएको दमन र मृत्युमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले उहाँहरूलाई दोषी ठहर्‍याएपछि यही आधारमा टेकेर आज पक्राउ गरिएको थियो । यद्यपि पक्राउको यो शृखंलामा भने गृहमन्त्री-प्रहरी अधिकारीबीचको रातभरको छलफल निर्णायक थियो । प्रहरीले गृह मन्त्रालयसँग लिखित आदेश माग गरेपछि बल्ल जरुरी पक्राउ पुर्जी जारी भएको थियो । 

कसरी गरियो त उहाँहरूलाई पक्राउ ? कति बेला कुन घटनाक्रम भयो ? हेरौँ यो रिपोर्ट ।।।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान प्रहरीले पक्राउ गर्‍यो । पक्राउको आधार थियो- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन ।

तर पक्राउको यो शृंखला भने शुक्रबारबाटै सुरु भएको थियो । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो १२:४० मा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्को सपथ थियो । सपथलगत्तै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ पदभार ग्रहण गर्न सिंहदरबार पुग्नुभयो । १ बजेर ३५ मिनेटमा गुरुङले पदबहाली गर्नुभयो । र, तत्कालै आफू मातहतका कर्मचारी र सुरक्षा निकायलाई भन्नुभयो- एक्सनमा जाने, नतिजा देखाउने ।

गृहमन्त्रीले एक्सन भन्दै इंगित गर्न खोजेको चाहिँ आयोगको प्रतिवेदन कार्यान्वयन नै थियो । यसबीच मन्त्रालयका कर्मचारी तथा सचिवहरूसँग छलफल र केही निर्देशन दिएर २ बजेर ५६ मिनेटमा उहाँ मन्त्रालयबाट बाहिरिनुभयो । र, ठीक ३ बजे मन्त्रिपरिषद्‌को पहिलो बैठकमा सहभागी हुन पुग्नुभयो । ४ बजेर ३३ मिनेटमा बैठक सकियो । 

बैठकमा ४ वटा निर्णय भए । जसमध्ये आयोगको प्रतिवेदन कार्यान्वयन मुख्य थियो । जसमा सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति बनाएर उसको सिफारिस बमोजिम गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मा दिने भन्दै ५ बजेर ६ मिनेटमा शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सुनाउनुभयो ।

यसलगत्तै मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन गर्न गुरुङ गृह मन्त्रालय नै फर्किनुभयो । त्यहाँ नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायतका सुरक्षा निकायका शीर्ष तहसँग उहाँले छलफल गर्नुभयो । यो छलफल करिब रातिको साढे ८ बजेसम्म चल्यो । 

छलफलमा दुवै सुरक्षा निकायका प्रमुखले प्रक्रियागत त्रुटि हुने भन्दै अदालतबाट पक्राउ पुर्जी लिएर मात्रै अघि बढ्नुपर्ने सुझाव दिनुभयो । तर मन्त्री गुरुङ तत्कालै पक्राउ गर्नुपर्नेमा अड्डी कसेर बस्नुभयो । सुरक्षा निकायलाई मनाउन नसकेपछि गुरुङ सभापति रवि लामिछाने भेट्न जाने भन्दै निस्किनुभयो ।

मन्त्रालयमा भने सुरक्षा निकाय र गृहसचिवलगायतका कर्मचारीबीच छलफल चल्यो, करिब ९ बजेसम्म । यसअघि नै साढे ८ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जवानदेखि एसएसपीसम्मलाई हेडक्वार्टरमा जम्मा हुन भनिसकिएको थियो । उपत्यकाका तीनै जिल्लाका प्रहरीलाई स्ट्यान्डबाई रहन निर्देशनसमेत भएको थियो ।

त्यसपछि गृह मन्त्रालयको छलफल करिब १० बजेबाट प्रहरी प्रधान कार्यालयमा सर्‍यो । गृहमन्त्रीसमेत उपस्थित यो बैठक १ बजेसम्म चल्यो । रात घर्किँदासमेत गृहमन्त्रीको जोरजबर्जस्तीलाई नाइँनास्ति गर्न नसकेपछि प्रहरीले गृह मन्त्रालयसँग लिखित आदेश माग गर्‍यो । 

गृहले प्रहरी प्रधान कार्यालयलाई मन्त्रिपरिषद्‌बाट भएको निर्णय कार्यान्वयन गर्न लिखित पत्र पठायो । उक्त पत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराध अनुसन्धान विभागलाई तोक लगाउनुभयो । त्यहाँबाट ओली र लेखकबारे आवश्यक कारबाही गर्ने सम्बन्धको पत्र काठमाडौं उपत्यका प्रहरी कार्यालय पुग्यो ।

यी दुई आदेश प्राप्त भएपछि जरुरी पक्राउ पुर्जी जारी गरियो । गुण्डु पुग्नुअघि नै सबै प्रक्रिया सकियो । तत्कालै ओली निवास गुण्डु क्षेत्रमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरियो । प्रहरीले बिहान साढे ४ बजेसम्ममा ओली निवास परिसर नियन्त्रणमा लिइसकेको थियो । टोलमा आउने जानेलाई प्रहरीले सोधपुछ गर्न थालिसकेको थियो । 

करिब ५ बजेर १५ मिनेटमा प्रहरी ओली निवास प्रवेश गर्‍यो । यसबीच जम्मा भएका नेता कार्यकर्ताले रोक्न खोज्दा एकैछिन धकेलाधकेलसमेत भएको थियो । यसपछिको करिब ५५ मिनेट प्रहरी र ओलीबीच छलफल भयो । र, अन्ततः ६ बजेर १० मिनेटमा ओलीले पक्राउ पुर्जीमा हस्ताक्षर गर्नुभयो । 

यसको ५ मिनेटपछि सवा ६ बजे आफ्नै गाडी चढेर ओली जिल्ला प्रहरी परिसर जानुभयो । त्यहाँ करिब १ घण्टा बसेपछि उहाँलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगियो । र, ८ बजेर १५ मिनेटमा उहाँलाई शिक्षण अस्पताल भर्ना गरियो ।

यता ओली पक्राउ पर्नुअगावै करिब ५ बजेर ४५ मिनेटमा लेखकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । समग्रमा गृहमन्त्री गुरुङले पदभार ग्रहण गरिसकेपछि १७ घण्टा पनि नबित्दै देशका पूर्वअतिविशिष्टहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।