
काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी युद्धमा यमनको हुथी विद्रोही पनि मिसिएको छ ।
इरानलाई समर्थन गर्दै हुथीले जारी युद्धमा पहिलोपटक इजरायलमाथि मिसाइल प्रहार गरेको हो । हुथीका बिग्रेडियर जनरल याया सारेले आफ्नो लक्ष्य हासिल नहुँदासम्म यस युद्धमा सहभागी हुने बताउनुभयो । इजरायली सेनाले हुथीद्वारा प्रहार गरिएको मिसाइल प्रतिरोध गरिएको जनाएको छ ।
हुथीले इजरायलका संवेनदशील सैन्य पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ । बियर सेब्बा आसपास र इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक हुथीले आक्रमण गरेपछि शुक्रबार राति चेतावनीस्वरुप साइरन बजेको थियो । लेबनानको हिजबुल्लाहले २ मार्चदेखि नै युद्धमा इरानलाई समर्थन गर्दै इजरायलसँग लडिरहेको छ ।
यसैबीच, संयुक्त राष्ट्र संघले होर्मुजमा जहाजको सुरक्षित आवातजावतका लागि एक नयाँ टास्क फोर्स बनाएको छ । यसको नेतृत्व यूएनका वरिष्ठ लजिस्टिक्स अधिकारी जर्ज मोरेइरा दा सिल्वाले गरिरहनु भएको छ । यसको मुख्य उद्देश्य खाद्य (फर्टिलाइजर) र त्यससँग सम्बन्धित कच्चा पदार्थ बोक्ने जहाजलाई सुरक्षा दिनु रहेको बताइएको छ ।
यस टार्सफोर्समा यूएनसीटीएडी, इन्टरनेसनल मेरिटाइम अर्गनाइजेश (आईएओ) र इन्टरनेसनल च्याम्बर अफ कमर्स (आईसीसी) जस्ता संगठनका प्रतिनिधि सहभागी हुनेछन् ।