प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाखबाट

चैत्र १४, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाखबाट

काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाखमा हुने भएको छ। 

नेपाल भलिबल संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी गराएको हो। आगामी वैशाख १० गते सुरु हुने लिग १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा सहभागी हुने टिम गत महिनामा भएको भलिबल च्याम्पियनसिपबाट छनोट भैसकेका छन्। 

लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ क्लब गरी कुल १४ टिमको सहभागिता रहने छ । लिग राउन्ड रोबिन शैलीमा हुनेछ। लिग चरणमा शीर्ष २ भित्र रहने टिम फाइनलमा पुग्नेछ। खेलमा खेलभावना विपरीतका गतिविधि हुनसक्ने भन्दै भलिबल संघले अनुशासनमा समिति गठन गर्ने भएको छ। 

खेल भावनाविपरीत काम गर्ने क्लबलाई निगरानी गर्ने संघको भनाइ छ। लिगामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, खिल्जि युवा क्लब, लुम्बिनी, पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लबको सहभागिता रहनेछ। 

महिलातर्फ न्यु डाइमन्ड युथ स्पोर्टस क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, सुदुरपश्चिम प्रदेश, एभरेष्ट भलिबल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सहभागिता रहने छ । लिगमा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश १० लाख, ५ लाख र २ लाख ५० हजार पाउने छन्। 

विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाईकर, सेटर र प्रशिक्षकले जनही ३० र ३० हजार पाउने आयोजकले जनाएको छ। संघले बाहिरबाट आउने खेलाडीलाई दैनिक एक हजार २ सय र उपत्यका भित्र रहने खेलाडीलाई तीन सय सभागीता खर्च दिने जानकारी दिएको छ।