सिन्धुपाल्चोकमा वन डढेलो नियन्त्रण गर्न अग्नि रेखा नियन्त्रण निर्माण

चैत्र १४, २०८२ |कमला पाख्रिन
सिन्धुपाल्चोकमा वन डढेलो नियन्त्रण गर्न अग्नि रेखा नियन्त्रण निर्माण

सिन्धुपाल्चोक । गर्मी र हावाहुरीको मौसमसँगै बढ्नसक्ने वन डढेलोको जोखिमलाई नियन्त्रण गर्न सिन्धुपाल्चोकका सामुदायिक वनहरूमा अग्नि नियन्त्रण रेखा निर्माण गर्न थालिएको छ । 

डिभिजन वन कार्यालय र सामुदायिक वनहरूको सहकार्यमा वन जोगाउन तथा वन्यजन्तुको जीवन रक्षा गर्ने उद्देश्यले निर्माण गरिएको अग्नि नियन्त्रण रेखाले वनको एक ठाउँमा लागेको आगो अर्कोतिर फैलिन नदिने र फैलिहाले पनि ठूलो क्षति हुनबाट जोगाउँछ । सिन्धुपाल्चोकको करिब एक सय वनमा अग्निरेखा बनाइएको छ ।

हावाहुरी र सुक्खायाम सुरू भएसँगै सिन्धुपाल्चोकको वन क्षेत्रमा डढेलोको सम्भावना पनि बढेको छ । त्यसैले वनलाई डढेलोबाट जोगाउन कल्लेरी सामुदयिक वन उपभोक्ता समूहका सदस्यहरू अग्निरेखा बनाउन व्यस्त छन् । यो वनमा आगलागी भएमा अग्निरेखादेखि तलैबाट डढेलो नियन्त्रण हुनेछ भने त्यसभन्दा माथि डढेलो लागिहालेमा पनि माथि नै नियन्त्रण हुने गरी बीचमा अग्निरेखा बनिरहेको छ । 

अन्य ठाउँमा पनि बस्ती नजिकका वन र जोखिम क्षेत्रको जलनशील पदार्थ, घाँसदाउरा, पातपतिङगर हटाउने काम भइरहेको छ । यहाँ स्थानीय घाँसदाउरा र काठका लागि सामुदायिक वनमै निर्भर रहनुपर्ने भएकाले वनको सुरक्षा आवश्यक छ । अहिले प्रत्येक सामुदायिक वनमा करिब १,२०० मिटर लम्बाइ र ५ मिटर चौडाइमा अग्नि रेखा निर्माण भइरहेको छ । 

अग्निरेखा निर्माणले वनसँगै वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षण गर्नेछ । अग्नि नियन्त्रण रेखा निर्माणले वनलाई डढेलोबाट जोगाउने मात्र होइन, स्थानीयस्तरमै रोजगारी दिएको छ । ५ सय ३० सामुदायिक वन रहेका सिन्धुपाल्चोकमा विगतमा अग्निरेखा निर्माणले धेरै ठाउाका वनलाई डढेलो लाग्नबाट जोगाएको छ । 

अहिले चौतारा, मेलम्ची, नवलपुर, जलवीरे, डाँडापाखारलगायतका ६ ठाउँका सब-डिभिजन कार्यालयले जोखिममा रहेका वन छनोट गरी एक लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । यसमा २० प्रतिशत सामुदायिक वनको लागत सहभागिता रहेको छ । अग्निरेखा निर्माण र समुदायको सहभागिताले वन संरक्षणमा सकारात्मक परिणाम ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।

फागुनदेखि जेठसम्म हावाहुरी लाग्ने, रूखबिरुवामा पुरानो पात झरी नयाँ पालुवा पलाउने मौसम भएकाले जंगलमा आगलागी तथा डढेलोको घटनाहरु हुने गरेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।