तेह्रथुममा लोप हुँदै परम्परागत हस्तकलाका सामग्री

चैत्र १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
तेह्रथुममा लोप हुँदै परम्परागत हस्तकलाका सामग्री

तेह्रथुम । तेह्रथुमको ग्रामीण जीवन शैलीमा कुनै समय घरायसी जीवनको अभिन्न अंग मानिएका ठेकी, हर्पे, मदानीलगायत काठका परम्परागत हस्तकलाका सामग्री अहिले हराउँदै गएका छन् । 

पशुपालनमा आएको गिरावट, डेरीमा दूध बिक्री गर्ने चलन तथा आधुनिक जीवनशैलीका कारण यी सामग्रीको प्रयोग घटेको मात्र नभइ हराउँदै गएका छन् । गाउँघरमा देखिएको यो परिवर्तनले स्थानीय ग्रामीण संस्कृतिको पहिचानमै असर पारिरहेको छ भने परम्परा जोगाउनै पर्ने चुनौती पनि थपिएको छ।

बिहान बेलुका दूध दुहुने, मही पार्ने र घिउ बनाउने काममा गाउँघरमा अनिवार्य मानिने काठका सामग्री अहिले गोठको छेउ, घरको कुना वा दोबाटोमा फालिएको अवस्थामा भेटिन्छन् । यस्ता दृश्यले केवल वस्तुको प्रयोगविहीनता मात्र देखाउँदैन, हाम्रो परम्परा, संस्कृति र जीवनशैलीमा आएको गहिरो परिवर्तनको संकेत पनि गर्छ ।

पहिले गाउँघरमा पशुपालन जीवनको प्रमुख आधार थियो । गाई भैंसी पाल्नु केवल आर्थिक गतिविधि मात्र नभइ सामाजिक र सांस्कृतिक अभ्याससँग पनि जोडिएको थियो । दूध दुहुने, त्यसबाट मही पार्ने र घिउ निकाल्ने काम दैनिक जीवनको नियमित प्रक्रिया नै थियो । 

यसका लागि प्रयोग हुने ठेकी, हर्पे, मदानी प्रत्येक घरका अनिवार्य सामग्री थिए । यो कामले परिवारको जीविकोपार्जनमा सहयोग त गरेकै थियो सामूहिक श्रम र परम्परागत ज्ञानलाई बचाई राख्न मद्दत पनि पुगेको थियो । तर, समयसँगै ग्रामीण जीवनका यी अभ्यास हराउँदै गएका छन् । 

लेकाली र ग्रामीण क्षेत्रमा पछिल्ला वर्षहरुमा गाईभैंसी पाल्ने चलन क्रमशः घट्दै गएको छ । युवाहरु रोजगारीको खोजीमा सहर र विदेश पलायन हुन थालेपछि गाउँमा श्रमशक्ति अभाव छ । जसका कारण पशुपालन गरिरहेका किसानको जीवनशैलीमा पनि परिवर्तन आएको छ । 

अहिले किसानले दूध सिधैं डेरी र बजारमा बेच्ने गर्छन् । बजारमा नगद आम्दानी हुने भएकाले किसानले दूधलाई व्यापारिक रुपमा बिक्री गर्न थालेका छन् । यसले घरमै विभिन्न प्रक्रिया पूरा गरेर अन्य परिकार बनाउनुपर्ने आवश्यकता छैन । जसका कारण काठबाट बनेका पुराना र परम्परागत सामग्रीको प्रयोग घट्दै गएको छ।

आधुनिक जीवनशैली र प्रविधिको प्रभावले पनि परम्परागत सामग्री प्रयोगविहीन भएका छन् । अहिले बजारमा प्लास्टिकका भाँडाकुाडा, स्टिलका कन्टेनर र फ्रिज जस्ता उपकरण सजिलै उपलब्ध छन् । डेरी उद्योगबाट उत्पादित दही, घिउ र अन्य दुग्धजन्य पदार्थ पनि बजारमा सहजै पाइने भएकाले मानिसलाई घरमै मही पार्नुपर्ने बाध्यता पनि छैन । 

यी परिवर्तनले मानिसको पुस्तौंदेखिको अनुभव, सीप र परम्परा समेटिएको जीवनशैलीमा मात्र होइन, संस्कृति र पहिचानमा पनि असर पारेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.