पश्चिम एसियामा त्रासमा छन् नेपाली श्रमिक, ६ हजारको घर फर्कने चाहना

चैत्र ६, २०८२ |सुमन पन्थ
पश्चिम एसियामा त्रासमा छन् नेपाली श्रमिक, ६ हजारको घर फर्कने चाहना

काठमाडौं । पश्चिम एसियाको तनाव लम्बिँदा नेपाली श्रमिकहरू ढुक्कले सुत्न सकेका छैनन् । 

परराष्ट्र मन्त्रालयको प्रणालीमा नाम टिपाउनेको संख्या ८२ हजार नाघेकोमा ६ हजार घर फर्कन चाहिरहेका छन् । मन्त्रालयले भने परिस्थितिअनुसार रणनीति लिने बताउँदै सम्बन्धित मुलुकका दूतावासमा सम्पर्क गर्न आग्रह गरिरहेको छ ।

पश्चिम एसियाली मुलुकमा इरानको आक्रमण जारी रहँदा सम्बन्धित मुलुकले त्यहाँ रहेका सबै मुलुकका नागरिकको सुरक्षा सुनिश्चितता त गरेका छन्, तर, नेपाली श्रमिकहरू भने ढुक्कले सुत्न सकेका छैनन् । तनाव बढिरहँदा साउदीस्थित नेपाली दूतावासमा घर कसरी फर्किन सकिन्छ भनेर चासो राख्नेको संख्या पनि बढ्दै गएको छ ।

परराष्ट मन्त्रालयले विकास गरेको प्रणालीमा हालसम्म ८० हजार नेपालीले आफ्नो स्थिति टिपाएका छन्, जसमध्ये आधाभन्दा बढी कतार र संयुक्त अरब इमिरेट्समा रहेकाहरू छन् । तीमध्ये ६ हजार घर फर्कन चाहिरहेका छन् । तर, परराष्ट मन्त्रालयले त्यहााको वस्तुस्थिति अध्ययन गरिरहेको बताएको छ । 

समस्यामा परेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न भनिएको छ । विकसीत परिस्थितिअनुसार रणनीति लिने उच्च सरकारी अधिकारीहरूको भनाइ छ । इरानले नागरिक पूर्वाधारमा समेत आक्रमण बढाउन थालेपछि पश्चिम एसियाली मुलुकका सरकारसमेत इरानसँग अझै आक्रोशित हुन थालेका छन् । 

रियादमा अरब र इस्लामिक देशका विदेशमन्त्रीहरूको आपतकालीन बैठकपछि साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले आवश्यक ठानेमा आफूले सैन्य कारबाही गर्ने अधिकार सुरक्षित राख्ने बताउनुभएको छ । यसबाट पश्चिम एसियामा चलेको तनाव अझै साम्य हुने स्थिति देखिएको छैन ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।